रंगेहात अवैध भएपछि को–को प्रहरीले पाउने भए सफाई ? « Drishti News – Nepalese News Portal
Logo

रंगेहात अवैध भएपछि को–को प्रहरीले पाउने भए सफाई ?


दृष्टि संवाददाता


काठमाडौं । सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध घोषणा गरेपछि सयौं कर्मचारीले एकैपटक सफाई पाउने भएका छन् । यस्तो स्टिङ अप्रेसन संविधानसँग बाझिएको भन्दै सर्वाेच्चले यसलाई खारेज मात्र गरेन यससम्बन्धि मुद्दामा प्रमाण नलाग्ने फैसला समेत गरेको छ । जसअनुसार बिशेष र सर्वाेच्चमा रहेका मुद्दामा सबैले सफाई पाउने निश्चित जस्तै भएको छ ।


यो फैसलाले रंगेहात पक्राउ परेका दर्जनौं प्रहरीको पनि जागिर जोडिने भएको छ । जसमा केही सिनियर अधिकृत समेत छन् ।

बानेश्वर वृत्तका तत्कालिन डिएसपी रमेश तामाङ ५० हजार घुससहित पक्राउ परेकोमा उनी बिशेषबाट दोषी ठहर भएका थिए । नयाँ बसपार्क प्रभाका हरिहर सुनुवारलाई पनि बिशेष अदालतले दोषी ठहर गरेकोमा सर्वाेच्चमा मुद्दा लडिरहेका छन् । सर्वाेच्चमा मुद्दा लडिरहेका दुवै जना सर्वाेच्चको फैसलापछि उत्साहित भएका छन् ।

त्यस्तै १५ हजार घुससहित पक्राउ परेका इलाका प्रहरी कार्यालय रन्यौरा, रुपन्देहीका इन्सपेक्टर केशब बस्नेत १५ हजार घुससहित पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर प्रकाशसिंह कार्की ५० हजार घुससहित पक्राउ परेका थिए । जिप्रका सर्लाहीका इन्सपेक्टर रामकिशोर साह पनि ९० हजारसहित डेढ वर्षअघि रंगेहात समातिएका थिए । ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक श्रेष्ठ र जवान लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले १५ हजार घुससहित पक्राउ गरेको थियो । चोर छुटाउनका लागि उनीहरुले घुस लिएका थिए । अपराध महाशाखाका इन्सपेक्टर जयनेपाल थापा पनि ४० हजार घुससहित पक्राउ परेकामा मुद्दा लडिरहेका छन् ।

वडा प्रहरी कार्यालयका भिमफेदीका इन्सपेक्टर रामबालक यादबलाई भने प्रहरीले नै घुससहित पक्राउ गरी अख्तियारमा बुझाएकाले उनलाई सफाई पाउन गाह्रो हुने देखिन्छ ।

एसपी दयानिधी ज्ञवाली लगायतले बिशेषबाट सफाइ पाएपनि उनीहरुको मुद्दा सर्वाेच्चमा थिए । अब सर्वाेच्चबाट पनि सफाईको बाटो खुलेको छ । बौद्ध वृत्तका तत्कालिन डिएसपी श्याम कुमार राईले बिशेषबाट सफाइ पाएकोमा हाल सर्वाेच्चमा मुद्दा छ । उनलाई पनि राहत भएको छ । हाल उनी म्यादी जिल्लामा कार्यरत छन् ।
थानकोट वृत्तमा रहँदा डिएसपी तेजेन्द्र पौडेल रंगेहात पक्राउ परेकोमा बिशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो । उनी सर्वाेच्चमा मुद्दा लडिरहेका थिए ।
घुससहित पक्राउ परेर हाल निलम्बनमा रहेका एक सय भन्दा धेरै प्रहरी छन् । उनीहरु सबैले अब सफाई पाउने अवस्था सिर्जना भएको छ । यसले प्रहरीमा भ्रष्टाचार झन् बढ्न सक्ने जोखिम देखिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले आयोगले गर्दै आएको स्टिङ अप्रेसन रोक्ने मागसहित दायर रिटमा यस्तो आदेश गरेको थियो । स्टिङ अप्रेसन संविधानप्रदत्त मौलिक हकसँग बाझिएको सर्वोच्चको ठहर छ ।

फैसलामा भनिएको छ,‘
‘…सो प्रावधान नेपालको संविधानको धारा २० (९) मा रहेको स्वच्छ सुनुवाइसम्बन्धी प्रावधान तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ मा रहेको प्रावधानसमेतको भावना र मर्मअनुकूल देखिएन,’ अख्तियारको नियमावलीमा स्टिङ अप्रेसनबाट घुस लिनेलाई पक्राउ गर्ने प्रावधानबारे बुधबार जारी संक्षिप्त आदेशमा भनिएको छ, ‘सो प्रावधान फौजदारी न्यायका मान्य सिद्धान्त, कानुनको उचित प्रक्रिया तथा प्रमाण संकलनसम्बन्धी न्यायिक मान्यताका दृष्टिले समेत मनासिब र तार्किक देखिएन ।’
सबैले सफाई पाउने भएपनि यससम्बन्धि मुद्दा भने नियमित प्रक्रियाबाटै टुंगिने छन् ।

प्रतिक्रिया दिनुहोस्