Logo
Logo

एनआरएन कतारमा ८२ लाख हिनामिना, केन्द्रीय अध्यक्ष पन्तकै संरक्षण ?


दृष्टि संवाददाता


काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) कतारका पदाधिकारीले सदस्यहरुसँग उठाएको रकम हिनामिना गरेका छन् । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, प्रथम उपाध्यक्ष उत्तम गुरुङ, महासचिव पदम गिरी र कोषाध्यक्ष विनोद बसौलाले एनसीसी कतारको बैंकमा रहेको २ लाख ५० हजार रियाल निकालेर खाता नै शून्य बनाएको आरोप छ ।

 

कतार एनआरएनएका सदस्यहरुसँग उठाएको उक्त रकमबाट गुरुङसहितका पदाधिकारीले टनेल लाउन्ज एण्ड क्लवमा लगानी गरेको कतारमा नेपालीहरुले बताएका छन् ।

कतारमा रहेका नेपालीबाट लेबीका रुपमा उठाएको नेपाली रुपैयाँ ८२ लाख निकालेर टनेल क्लवमा लगानी गरेको बिषयले कतार एनआरएनएमा विवाद सुरु भएको छ । प्रथम उपाध्यक्ष उत्तम गुरुङ अहिले कतार प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका छन् । एनआरएनएका सदस्यहरुसँग लेवी उठाएर जम्मा गरेको संघको ८२ लाख रुपैयाँ र एनआरएनएलाई आइएलओले सहयोग गरेको लाखौं रकम समेत गुरुङको समूहले टनेल क्लवमा लगानी गरेका छन् । जुन कुराले कतारका एनआरएनहरुबीच हंगामा मच्चिएको छ ।

प्रथम उपाध्यक्ष उत्तम गुरुङ

यसैबीच, एनआरएनएको लेबीको रकमबाट टनेल क्लव खोल्नेमध्येका एक उपाध्यक्ष गुरुङलाई कतारले नेपालमा फिर्ता(डिपोर्ट) पठाउन केही दिनअघि नेपाली दूताबाससँग अनुमति मागेको थियो । टनेल क्लबमा काम गर्न राखिएका मजदुरहरुको तलव नदिएको र बस्ने ठाउँमा होहल्ला र गुण्डागर्दी गरेको आरोपमा उनलाई कतार प्रहरीले नेपाल डिपोर्ट गर्नका लागि दूताबाससँग अनुमति मागेको थियो । तर कतार सरकारले नेपाल डिपोर्ट गर्न खोज्दा एनआरएनएका अध्यक्ष कुमार पन्त र उपाध्यक्ष बद्री केसी नै गुरुङलाई रोक्न लागेका छन् । पन्त र केसी नेपालमा आएर परराष्ट्र मन्त्रालयमै गई गुरुङलाई डिपोर्ट नगर्न लबि गरिरहेका छन् । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलाई नै प्रभावमा पारी राजदूत नारद भारद्वाज वाग्लेलाई गुरुङलाई डिपोर्ट नगराउन दबाब दिएको स्रोतले बताएको छ ।

राजदूत वाग्ले भने गुण्डागर्दीमा संलग्न गुरुङलाई नेपाल डिपोर्ट गर्नुपर्ने अडानमा रहेका छन् ।गुरुङले कतारमा टनेल क्लबमा राखेका नेपाली कामदारलाई झण्डै ५० लाख रुपैयाँ पारिश्रमिक नदिई शोषण गरेको उजुरी कतारस्थित नेपाली राजदूतावासमा पनि परेको छ ।

प्रतिक्रिया दिनुहोस्