Logo
Logo

कक्षा ८ पछि पढाइ छाड्नुपर्ने बाध्यता अन्त्य हुने


दृष्टि संवाददाता


म्याग्दी । गाउँमै माध्यमिक तहको विद्यालय सञ्चालन गर्न म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङका बासिन्दाले करिब रु २९ लाख सहयोग जुटाएका छन् ।

छिस्वाङस्थित सारदा आधारभूत विद्यालयलाई स्तरोन्नति गर्न सञ्चालित अभियानमा हालसम्म रु २८ लाख ९२ हजार सङ्कलन भएको हो । विद्यालयका प्रअ खगिन्द्र सापकोटाले स्वदेश तथा विदेशमा रहेका सेवा क्षेत्रका बासिन्दाको पहलमा सो सहयोग प्राप्त भएको जानकारी दिए ।

‘शैक्षिक सत्र २०७८ देखि माविको पठनपाठन शुरु गराउन निजी स्रोत र तल्लो तहमा दरबन्दी भएर माथिल्लो तहमा पढाउने शिक्षकको तलब भत्ताका लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य छ’, उनले भने, ‘करिब रु २९ लाख सङकलन भइसकेको छ । घोषणा भएको थप रु नौ लाख प्राप्त हुने क्रममा छ ।’

छिस्वाङका कृष्णबहादुर मल्लको संयोजकत्वमा समिति बनाएर आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको छ । हालसम्म १२६ जना दाताले घोषणा गरेको रकम विद्यालयलाई उपलब्ध गराइसेका छन्।

रोजगारी, पेशा व्यवसाय र अध्ययनको सिलसिलामा प्रवासमा रहेका पूर्वविद्यार्थी, अभिभावकहरुको पहलमा सहयोग जुटाएका हुन् । छिस्वाङमा मावि तहको पठनपाठन सञ्चालन भएपछि मङ्गलाको पिपलबोट, सिर्कुम, पाखु, टिकावाङ, मालिका गाउँपालिकाको खोप्टी र दुखुबेँसीका बालबालिकालाई सुविधा पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गबहादुर खत्रीले बताए।

यहाँका विद्यार्थी हाल कक्षा ८ उत्तीर्ण भएपछि अर्मन, बाबियाचौर र दरवाङ जाने गर्छन् । घरबाट विद्यालय पुग्न डेढ घण्टासम्म पैदल हिँड्नुपर्छ । गाउँ र नजिकै मावि तहको पढाइ हुने विद्यालय खुलेपछि भौगोलिक विकटता, पारिवारिक र आर्थिक कारणले कक्षा ८ पछि पढाइ छाड्नुपर्ने विपन्न विद्यार्थीको बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

गाउँमै माध्यमिक तहको पढाइ शुरु हुने भएका कारण कक्षा ८ उत्तीर्ण गरेपछि पढ्नका लागि घर छाडेर छात्रावास, डेरा र आफन्तकहाँ बस्नुपर्ने समस्या समेत हट्नेछ ।

विसं २०१५ मा स्थापना भएको शारदा आधारभूत विद्यालयमा ६ देखि ८ कक्षासम्म पनि निजी स्रोतबाट सञ्चालन हुँदै आएको छ । विद्यालयमा २०१ विद्यार्थी छन् ।

प्रावि तहका चार शिक्षकको दरबन्दी भएको सो विद्यालयमा गाउँपालिकाले हालै दरबन्दी मिलान गरेर थप एक शिक्षक पठाएको छ । गाउँपालिकाले एक जना शिक्षकको तलबका लागि बजेट व्यवस्था गरेको छ । निजी स्रोतका तीन शिक्षकको तलब भत्तामा हाल मासिक रु ४१ हजार खर्च हुन्छ ।

आरुबोट सामुदायिक वन उपभोक्ता समूहले घाँस, दाउरा र काठ बेचेर तथा केबुल टिभी सञ्चालन गरेर शिक्षकलाई तलब दिने गरिएको छ । बहत्तर घरधुरी केबुल टिभी प्रयोगकर्ताबाट मासिक रु २०० का दरले विद्यालयलाई सहयोग प्राप्त हुन्छ ।

मावि तहमा थप तीन शिक्षक राख्दा सरकारले तोकेको तलब दिँदा प्रतिशिक्षक मासिक रु ३७ हजार ९९० आवश्यक पर्छ । दुई नयाँ शिक्षक थप गर्ने र एक तल्लो तहको दरबन्दी भएकाले मावि तहमा पढाउने योजना बनाइएको छ । तह थप र स्तरोन्नतिका लागि पूर्वाधार निर्माणको काम पनि भइरहेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत हालै चारकोठे दुईतले पक्की भवन निर्माण भएको छ । यसअघि दुई–दुई कोठे दुईवटा ट्रस भवन निर्माण भएको थियो । पुनःनिर्माण प्राधिकरणको सहयोगमा शौचालय निर्माण भइरहेको छ । घेराबार गरेर विद्यालय परिसरलाई व्यवस्थित बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्