Logo
Logo

देशव्यापी लकडाउन आवश्यक छैन : प्रधानमन्त्री ओली


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

शनिबार बालुवाटारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकलाई ब्रिफ्रिङ गर्दै उनले अहिले नै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लकडाउन जारी गर्ने अधिकार स्थानीय तहलाई दिइएको बताए । संक्रमण रोक्न पनि स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्छ बताए ।

यस्तै, प्रधानमन्त्री ओलीले पछिल्लोपटक सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका छन् ।

सरकारले बैशाख ६ गते जारी गरेको आदेशमा सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न, २५ जना भन्दा बढी मानिसहरुको जमघट नगर्न, सार्वजनिक सवारी साधनमा स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गर्न लगायतका आदेश जारी गरेको थियो ।

सरकारी आदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ, तर त्यसको पालना कोही कसैबाट पनि भएको छैन । आदेश पालना नभएपछि प्रधानमन्त्री ओलीले यसको कडाइ पूर्वक पालना गराउन शनिबार निर्देशन दिएका हुन् ।

उनले भने- ‘स्वास्थ्य मापदण्डको पालनासम्बन्धी सरकारको आदेश कार्यान्यवन हुनुपर्यो, परीक्षण कम भएको गुनासो आइरहेको छ, त्यसलाई बढाउनुपर्यो, भेन्टिलेटर कम छन् भने थप्नुपर्यो, दातासँग मागेर हुन्छ कि, किनेर हुन्छ, तुरुन्त थप्नुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्