Logo
Logo

जागिर दिने भनेर युवतीलाई कोटेश्वरको गेष्ट हाउसमा बेच्ने महिला पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–२५ ठुलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षत्री भन्ने बिमला बिक, चितवन भरतपुर महानगरपालिका–१९ बस्ने ४४ वर्षीय मौसम भन्ने केश बहादुर विश्वकर्मा र लम्जुङ दोर्दी गाउँपालिका–१ घर भई चितवन डेरा गरी बस्ने ४१ वर्षीय नविन अधिकारी भन्ने नबराज अधिकारी रहेका छन् ।

उनीहरूमध्ये बिमलालाई कास्की पुम्दीभुम्दीबाट बिहीबार, केश बहादुरलाई चितवन भरतपुर महानगरपालिका–३ बाट शुक्रबार र नबराजलाई चितवन पुल्चोकबाट शुक्रबार पक्राउ गरिएको हो ।

उनीहरुमध्ये बिमलाले पीडितलाई फेसबुक मार्फत कुराकानी गरी राम्रो कमाई हुने काममा लगाईदिने भनि काठमाडौं कोटेश्वरमा रहेको दिपलक्ष्मी गेष्टहाउसमा शुरुमा वेटरको काम लगाई डर, धाक, धम्की देखाई वेश्यावृतिमा लगाएका थिए । सो गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठलाई यसअघि नै प्रहरीले पक्राउ गरीसकेको छ । केश बहादुरले पीडितलाई राहदानी बनाउन सहयोग गरी भारतको बिभिन्न स्थानमा बन्धक बनाई श्रीलङ्कासम्म लगी अलपत्र बनाएको तथा नवराजले पीडितलाई लिबियामा क्यानेडियन कम्पनीमा महिनाको १ लाख ५० हजार रुपैयाँसम्म कमाई हुन्छ भनी प्रलोभनमा पारी दुवई हुँदै लिबियामा लगि कोठामा बन्धक बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्