Logo
Logo

नागरिकको जीवन रक्षा गर्न सरकार संवेदनशील नभएको सांसदहरूकाे आरोप


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा देखिएसँगै सरकारले प्रभावकारी ढंगले कोरोना रोकथाम नगरेको भन्दै सांसदहरूले आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले कोरोनाबाट नागरिकको जीवनरक्षा गर्न सरकार संवेदनशील नभएको भन्दै आलोचना गरेका हुन् ।

बैठकमा सांसदहरूले बजेट रकमान्तर गरेर भए पनि कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सांसदहरूले सरकारसँग माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरे । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको उनको भनाइ थियो ।

नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लाहरूमा भयावह स्थिति आइसकेकोतर्फ संकेत गरे । सीमावर्ती जिल्लाका स्वास्थ्यकर्मीहरूले हात उठाइसकेको भन्दै सरकारलाई आफैंले गरेका निर्णयहरू कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताए ।

जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहायप्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरवाही गरिरहेको आरोप लगाए । सरकार आफैंले विभिन्न मेला गर्ने, भीडभाड गर्ने, उद्घाटनको नाउँमा भीड गराउने गरेको यादवले आरोप लगाए ।

बैठकले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमित बिरामीको उपचारका लागि भइरहेका कामको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्