Logo
Logo

‘सीमामा कडाई नभए नेपालगञ्जको अवस्था सिंगो देशले भोग्न सक्छ’


दृष्टि संवाददाता


काठमाडाै‌‌। कोरोना भाइरसको संक्रमणको दोस्रो लहरले नेपाललाई पनि आक्रान्त बनाउनुमा भारतसँग सीमा जोडिएको नाका नै प्रमुख जड भएको जनस्वास्थ्यविज्ञले बताउँदै आएका छन् ।

नाकामा कडाई नहुनु, स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयन हुन नसक्दा निर्वाध रूपमा नाका हुँदै नेपाली सहजै आवतजावत गरिरहेका छन् । जसका कारण संक्रमण निरन्तर बढीरहेको छ ।

संक्रमण नियन्त्रणका लागि समयमै ठोस पहलकदमी नचाले नेपालमा अस्पतालहरूले धान्न नसक्ने सूचना स्वास्थ्य मन्त्रालयले यसअघि जारी गरिसकेको छ । अहिले सबैभन्दा बढी प्रभावित तराईका जिल्लाहरू छन् ।

बढी आवतजावत हुने प्रमुख नाका भएका जिल्लामा कोरोना संक्रमण काबुबाहिर गइसकेको छ । सबैभन्दा बढी प्रभावित नेपालगन्जमा परेको छ । नेपालगन्जका अस्पतालहरू अहिले कोरोना संक्रमितले भरिएका छन् ।

एक साताको अवधिमै स्थिति नियन्त्रण बाहिर गएपछि स्वास्थ्य मन्त्रालयले कोरोना फोकल पर्सन डा. महेन्द्र श्रेष्ठको संयोजकत्वमा पठाएको अनुगमन टोलीले नेपालगञ्जले भोगेको हालत पुरै देशले भोग्ने चेतावनी दिएका छन् । उनले तीन तहको सरकारबीच समन्वय नभए भाइरसले मुलुकलाई नै लपेट्ने डा. श्रेष्ठको आकलन छ ।

श्रेष्ठका अनुसार सरकारले सुरुमा सीमाबाट आउने क्रम जारी रहेकाले स्वास्थ्यका जनशक्ति नाकामा बढीभन्दा बढी खटाएर परीक्षण प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।

यस्तै, सीमा क्षेत्रमै ठूलो क्षमताको क्वारेन्टिन बनाउनुपर्ने र १४ दिन क्वारेन्टिन बसेर पनि नेगेटिभ पाइए भने मात्रै घर पाठाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । यस्तै, गम्भीर बिरामीलाई तत्काल उपचार दिलाउने व्यवस्था गरिदिन समेत माग श्रेष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्