Logo
Logo

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेश गरिएको छ । प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठक प्रारम्भ भएलगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन् ।

सांसद नेपालीले सम्बोधन गर्दै नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अविश्वासको प्रस्ताव ल्याउनुपर्ने कारणबारे धारणा राखेका हुन् । ‘नेपालको लोकतान्त्रिक र वाम आन्दोलनका हस्ती, प्रथम निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज स्मृति दिवस हो । उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु’, आफ्नो मन्तव्यको शुरूमै पोखरेलले भने ।

संविधानको मान्यता जननिर्वाचित संसद र सरकार दुवै ५ वर्ष चल्नुपर्छ भन्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रयास गरेर संवैधानिक मान्यता उल्लघंन गरेको आरोप लगाउँदै नेपालीले त्यसकै प्रतिक्रिया प्रदेश सरकारमा देखिएको बताए ।

प्रस्तावित मुख्यमन्त्रीसमेत रहेका नेपालीले मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएपछि विश्वासको मत लिनुपर्नेमा अनावश्यक चलखेल गरेको आरोप लगाए । ‘दल विभाजन हुँदा विश्वासको मत लिनुभएन । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिदा पनि मुख्यमन्त्रीजी सत्तामा टाँस्सिन खोज्नुभयो । त्यसैले उहाँको विकल्प खोजेका छौं’, नेपालीले भने ।

प्रतिक्रिया दिनुहोस्