काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार साँझ पाँच बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी बसेको थियो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको मन्त्रीले जानकारी दिएका छन् । ‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा आजको बैठकले सोही निर्णयलाई निरन्तरता दिएको हो,’ एक मन्त्रीले भने ।
त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि १६ गते विहान ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको एक मन्त्रीले बताए ।
एक मन्त्रीका अनुसार सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको छ ।