Logo
Logo

एनआरएन कतारमा अनियमितता, संस्थाको पैसा रेष्टुरेन्टमा लगानी ?


दृष्टि संवाददाता


काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) कतारका पदाधिकारीले सदस्यहरुसँग उठाएको रकम हिनामिना गरेका छन् । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, प्रथम उपाध्यक्ष उत्तम गुरुङ, महासचिव पदम गिरी र कोषाध्यक्ष विनोद बसौलाले एनसीसी कतारको बैंकमा रहेको २ लाख ५० हजार रियाल निकालेर खाता नै शून्य बनाएपछि विवाद सुरु भएको छ ।

कतार एनआरएनएका सदस्यहरुसँग उठाएको उक्त रकमबाट गुरुङसहितका पदाधिकारीले टनेल लाउन्ज एण्ड क्लवमा लगानी गरेको कतारमा नेपालीहरुले बताएका छन् ।

कतारमा रहेका नेपालीबाट लेबीका रुपमा उठाएको नेपाली रुपैयाँ ८२ लाख निकालेर टनेल क्लवमा लगानी गरेको बिषयले कतार एनआरएनएमा विवाद सुरु भएको छ । प्रथम उपाध्यक्ष उत्तम गुरुङ अहिले कतार प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका छन् । एनआरएनएका सदस्यहरुसँग लेवी उठाएर जम्मा गरेको संघको ८२ लाख रुपैयाँ र एनआरएनएलाई आइएलओले सहयोग गरेको लाखौं रकम समेत गुरुङको समूहले टनेल क्लवमा लगानी गरेका छन् । जुन कुराले कतारका एनआरएनहरुबीच हंगामा मच्चिएको छ ।

कतार एनआरएनएका सदस्यहरुसँग उठाएको उक्त रकमबाट गुरुङसहितका पदाधिकारीले टनेल लाउन्ज एण्ड क्लवमा लगानी गरेको कतारमा नेपालीहरुले बताएका छन् ।

यसैबीच, एनआरएनएको लेबीको रकमबाट टनेल क्लव खोल्नेमध्येका एक उपाध्यक्ष गुरुङलाई कतारले नेपालमा फिर्ता(डिपोर्ट) पठाउन केही दिनअघि नेपाली दूताबाससँग अनुमति मागेको थियो । टनेल क्लबमा काम गर्न राखिएका मजदुरहरुको तलव नदिएको र बस्ने ठाउँमा होहल्ला र गुण्डागर्दी गरेको आरोपमा उनलाई कतार प्रहरीले नेपाल डिपोर्ट गर्नका लागि दूताबाससँग अनुमति मागेको थियो । तर कतार सरकारले नेपाल डिपोर्ट गर्न खोज्दा एनआरएनएका अध्यक्ष कुमार पन्त र उपाध्यक्ष बद्री केसी नै गुरुङलाई रोक्न लागेका छन् । पन्त र केसी नेपालमा आएर परराष्ट्र मन्त्रालयमै गई गुरुङलाई डिपोर्ट नगर्न लबि गरिरहेका छन् । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलाई नै प्रभावमा पारी राजदूत नारद भारद्वाज वाग्लेलाई गुरुङलाई डिपोर्ट नगराउन दबाब दिएको स्रोतले बताएको छ ।

राजदूत वाग्ले भने गुण्डागर्दीमा संलग्न गुरुङलाई नेपाल डिपोर्ट गर्नुपर्ने अडानमा रहेका छन् । गुरुङले कतारमा टनेल क्लबमा राखेका नेपाली कामदारलाई झण्डै ५० लाख रुपैयाँ पारिश्रमिक नदिई शोषण गरेको उजुरी कतारस्थित नेपाली राजदूतावासमा पनि परेको छ ।

प्रतिक्रिया दिनुहोस्