Logo
Logo

कोरोना नियन्त्रणको सम्पूर्ण कमान्ड प्रधानमन्त्रीले गनुपर्छ : याेगेश भट्टराई


दृष्टि संवाददाता


काठमाडौं । कोरोना नियन्त्रण प्रभावकारी रूपमा गर्नका लागि प्रधानमन्त्रीले नेतृत्व लिनुपर्ने सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा भएको कोरोना नियन्त्रणबारेको छलफलका क्रममा भट्टराईले विभिन्न मन्त्रालय र तहबीच समन्वय अभावमा कोरोना नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको बताए ।

‘स्वास्थ्य मन्त्रालयले एउटा कोणबाट हेरेको हुन्छ, उद्योग मन्त्रालयले अर्को । अर्थ मन्त्रालयले राजश्व उठ्दैन भनेर अर्को कोणबाट हेरिरहेको हुन्छ । पर्यटन मन्त्रालयले पर्यटनका गतिविधि भएनन् भनेर त्यो कोणबाट हेर्छु’ उनले भने, ‘हामी सबै एकठाउँ बसेर एउटा निर्णय गर्नुपर्छ, त्यो सीसीएमसी होला । त्यो कत्तिको प्रभावकारी हुन्छ । प्रभावकारी छैन भने बनाउनुपर्छ हैन भने कोरोना नियन्त्रणमा टोटल कमान्ड प्रधानमन्त्रीले गर्नुपर्छ । किनभने एउटा मन्त्रालयको आग्रह अर्को मन्त्रालयले मान्छ भन्ने लाग्दैन । त्यहाँ टकरावहरू छन्, इगोहरू छन् । त्यसैले यसको टोटल कमान्ड प्रधानमन्त्रीले गर्नुपर्छ अनिमात्र हामी ठिक ठाउँमा जान्छौं ।’

भट्टराईले स्वास्थ्य मन्त्रालयले विज्ञहरूको सुझाव लिनुपर्ने र विदेशमा कोरोनासम्बन्धि कस्ता घटना भइरहेका छन् भन्नेबारे ताजा विवरण लिन र त्यसको विश्लेषण गर्न विज्ञ राख्नुपर्ने सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्