काठमाडौं । गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अस्पतालको ‘आईसीयू’मा भर्ना गरिएको बारेमा प्रमुख प्रतिपक्ष कांग्रेसले आपत्ति व्यक्त गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको अवस्थामा एकदिन अघिसम्म स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भनेर प्रश्न गरेका छन् ।
प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतविभाजनको कार्यसूची थियो । त्यसमा एकजना सदस्य पनि अनुपस्थित भए वा फ्लोर क्रस गरेको अवस्थामा प्रदेश सभाको अंकगणितमा फरक पर्ने अवस्था थियो । जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो ।
शर्माले स्वस्थ व्यक्तिलाई अस्पतालमा राखिनु र उपचारका नाममा बन्दी बनाइएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत सोधेका छन्, ‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसियूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ रु उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’
@PM_Nepal यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहिको कोभिड परिक्षण नेगेटिभ आएको रिपोर्ट !
स्वस्थ,तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दि ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि ? pic.twitter.com/GFCSssjC6I
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 28, 2021