Logo
Logo

‘केपी ओलीले मलाई कारवाही गर्न सक्दैनन्’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्नै नसक्ने दावी गरेका छन् ।

बुधबार नेकपा एमालेको माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेता रावलले आफूलाई कारवाही गर्न ओलीको कुनै सामर्थ्य नरहेको बताएका हुन् । उनले ओलीले पार्टी विधान विपरितका क्रियाकलाप गरेकाले त्यो नरोकिएसम्म आफूहरुको अभियान जारी रहने बताए ।

‘उहाँ (केपी शर्मा ओली)ले सर्वोच्च अदालतको फैसला विपरित र नेकपा एमालेको विधान विपरित केन्द्रीय कमिटीलाई भंग गर्नुभयो । कथित आयोजक कमिटी बनाउनु भो महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टीकरण सोध्ने गतिविधि गर्नुभएको छ,’ उनले भने ।

‘यी स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौं राष्ट्रिय महाधिवेशनको निर्णय विपरितका गतिविधि हुन् । र यसको विरुद्धमा देशव्यापी रुपमा कार्यकर्तालाई एमालेको सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाको लागि जुन अभियान चलाएका छौं, हामीले यसलाई जारी राख्नुपर्छ ।’ उनले भने ।

नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्