Logo
Logo

सरकारले गण्डकीमा हाम्राे सांसद अपहरण गर्‍यो : जनमोर्चा


दृष्टि संवाददाता


पोखरा । सरकारले गण्डकी प्रदेशमा आफ्नो सांसद अपहरण गरेको राष्ट्रिय जनमोर्चाले बताएको छ । पार्टीका महासचिव मनोज भट्टले गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका मान्छेहरुले अपहरण गरेर अज्ञात स्थल लुकाएको आरोप लगाएका छन् । अविश्वास प्रस्तावमाथि प्रदेश सभाको बुधबारको बैठकमा भएको छलफलमा शाही उपस्थित नभएपछि उनको खोजी भएको थियो ।

छलफल लगत्तै प्रस्तावमाथि मतदानको तयारी शुरु हुँदा समेत शाही प्रदेश सभामा देखा नपरेपछि उनको खोजी तीव्र पारिएको थियो । शाही फोन अफ गरी सम्पर्कविहीन भएपछि पार्टी नेतृत्वले समेत केन्द्रबाट निरन्तर खोजी गर्दा पनि नभेटिएपछि उनको अपहरण गरिएको हुनसक्ने महासचिव भट्टले बताएका छन् । ‘उहाँ विरामी भएर कोठामा जानुभएको थियो, मतदानको बेलामा मलाई खबर गर्नुहोला म आउँछु पनि भन्नु भएको थियो,’ भट्टले भने, ‘तर अहिलेसम्म पनि उहाँको स्थिति अज्ञात छ । उहाँलाई अपहरण गरेर अविश्वासको प्रस्ताव फेल गर्ने सरकार पक्षको षडयन्त्र हुनसक्छ ।’

आफूहरुले शाहीको स्थिति प्रष्ट नहुँदा सम्मको लागि प्रदेश सभाको बैठक स्थगित गर्न माग गरेको भट्टले बताएका छन् । ‘मतदानको प्रक्रिया रोकिदैछ,’ उनले भने । प्रदेश सभामा कांग्रेसको १५ र माओवादीको १२ सांसद छन् । माओवादीबाट नेत्रनाथ अधिकारी सभामुख छन् । उनले मतदान गर्न पाउँदैनन् । जनता समाजवादी पार्टीका २ सांसद छन् भने राजमोका तीन सांसद छन् । गण्डकी प्रदेशमा एमालेका १ जना मात्र माधव नेपाल पक्षका सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्