Logo
Logo

टीकापुर घटनाको मुद्दा फिर्ता हुँदैन : महान्यायाधिवक्ता


दृष्टि संवाददाता


काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनाको मुद्दा फिर्ता लिन नसक्ने बताएका छन् ।

सरकारले जसपाका विभिन्न नेता/कार्यकर्तामाथि लागेका १ सय बढी मुद्दा फिर्ता लिएपनि महान्यायाधिवक्ता बडालले संविधान र कानुनमा भएको व्यवस्था हेर्दा टीकापुर घटनासँग जोडिएको रेशम चौधरीको मुद्दा फिर्ता लिन नसक्ने बताएका हुन् ।

जनता समाजवादी दलको एउटा खेमाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न रेशम चौधरी लगायत मधेश आन्दोलनका क्रममा जोडिएका कतिपय फौजदारी मुद्दा फिर्ताको आवाज उठाइरहेको छ ।

सत्तारुढ एमालेले त्यसमा सम्भव भएसम्म सहयोग गर्ने आश्वासन दिइरहेका बेला नवनियुक्त महान्यायाधिवक्ता बडालले स्पष्ट रुपमा ‘रेशम चौधरीको मुद्दा फिर्ता लिन नमिल्ने’ बताएका छन् । उनले मुद्दा फिर्ताको विषयमा आफूहरुले दिएको राय अहिलेको राजनीतिक घटनाक्रमसँग प्रभावित नभएको दाबी पनि गरे ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनमा आठ सुरक्षाकर्मी र एकजना शिशुको ज्यान गएको घटनामा चौधरी लगायतमाथि मुद्दा थियो ।

प्रतिनिधिसभा विघटन हुनुभन्दा तीन दिनअघि उच्च अदालत दिपायलले रेशम चौधरीमाथि व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैद हुने भनी जिल्ला अदालतले गरेको फैसला सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्