Logo
Logo
निषेधाज्ञा

उपत्यकामा निषेधाज्ञा: विहानै यस्तो देखियो काठमाडौं (तस्बिरमा हेर्नुहोस्)

चोकचोकमा कडा चेकजाँच


प्रकाश चाम्लिङ


काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानदेखि निषेधाज्ञा गरिएको छ। कोरोनाभाइरस (कोभिड-१९) संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा वैशाख २२ गतेसम्म चल्ने सरकारी निर्णय रहेको छ । त्यसपछि पुनः एक साता निषेधाज्ञा गर्ने सरकारको तयारी छ ।

निषेधाज्ञामा प्रहरीले अत्यावश्यक परेका तथा पास भएका मानिसहरूलाई मात्रै सडकमा आवतजावत गर्न दिएको छ । मास्क नलगाएकालाई ठाउँठाउँमा बनाइएको होल्डिङ सेन्टरमा प्रहरीले राखेको छ भने सडकमा कम सवारी साधन गुडेका छन् ।

सार्वजनिक सवारी साधन चलेका छैनन् तर छिटफुट भने आज विहानै चलेका थिए । जिल्ला प्रशासन कार्यालयले बैंक तथा वित्तीय संस्था, बीमलगायत कार्यालयको परिचय पत्र देखाएर निजी सवारी साधन चलाउन दिने निर्णय गरेको छ ।

विहानै मानिसहरु आ-आफ्नो गन्तब्यतिर हिड्दै लागिरहेका थिए । पसलहरु बन्द देखिएका छन् भने केहि अत्यावाश्यक पसलहरु छिटफुट खुलेका छन् ।

सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सवारीसाधन सञ्चालनमा रोक लगाएपनि कतिपयले निषेधाज्ञा उलंघन गर्न सक्ने भएकाले प्रहरीले मुख्य-मुख्य चोकहरुमा चेकजाँचलाई कडा पारेको देखिएको छ ।

प्रहरीले राजधानीका चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका साधनलाई होल्डमा राखिएको छ ।

वैशाख १६ गतेदेखि २२ गतेसम्म खाद्य सामग्रीका पसलहरु सञ्चालनका लागि समय तोकिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले खाद्य सामग्रीका पसल विहान १० बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म मात्र खोल्न आदेश दिएको छ ।

न्युनतम २ मिटरको भौतिक दुरी कायम गर्ने लगायत सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी मात्र पसल सञ्चालन गर्न आदेशमा उल्लेख छ । यस्तै डिपार्टमेन्ट स्टोर विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म सञ्चलन गर्न पाइने छ ।

डिपार्टमेन्टमा ग्रोसरी कक्ष मात्र न्यूनतम २ मिटरको भौतिक दुरी कायम गरी नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्ने गरी १० वजे देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ ।

 

 

यो पनि पढ्नुस्

उपत्यकामा निषेधाज्ञाः यी हुन् बन्द हुने र सञ्चालन हुने सेवाहरू

 

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, के खुल्छ, के खुल्दैन ?

प्रतिक्रिया दिनुहोस्