Logo
Logo

बेपत्ता प्रकरणमा खिमविक्रमले भने- अविश्वासको प्रस्तावको पक्षमा अडिग छु


दृष्टि संवाददाता


काठमाडौं । बुधबार गण्डकी प्रदेश सभामा उपस्थित नभई अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले अविश्वास प्रस्तावको पक्षमा प्रतिवद्ध रहेको जनाएका छन् ।

​उनले बिहीबार प्रेस नोट जारी गर्दै भनेका छन्, ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु ।’

उनले पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै रहेकाे बताएका छन् । ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै छ’, उनले विज्ञप्तिमा भनेका छन्।

अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची तय भएको बुधबारको दिन संसद् जाने तयारी गर्दैगर्दा बिरामी भएको उनले जानकारी गराएका छन्। अस्पताल जाने क्रममा बेहोस भएको जानकारी गराउँदै उनले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन्।

बागलुङ क्षेत्र नं. २ ‘ख’ बाट निर्वाचित सांसद शाहीले समाचार र सामाजिक सन्जालमा प्रचार भएका भ्रमपूर्ण खबरका आधारमा धारणा नबनाउन आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्