Logo
Logo

नागरिकलाई निषेध गर्न नसकेको निषेधाज्ञा


प्रदीपराज दाहाल


काठमाडाैं । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा सुरु गरियो । संक्रमण रोक्न लकडाउन र निषेधाज्ञा नै उत्तम उपाय रहेको बताइए पनि बिहीबार सडकमा निषेधाज्ञाको खासै अर्थ देखिएन ।

ठूला सडक सुनसान थिए भने भित्री सडकमा चहलपहल रोकिएन । निषेधाज्ञा फितलो हुँदा जाम हुन पुग्यो । सयौँ गाडी कारबाहीमा परे पनि ट्राफिक प्रहरी नै अन्जान हुन पुगे ।

निषेधाज्ञा फितलो देखिएसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि कडाइ गर्ने जनाएको छ । तर, बिहीबार प्रशासनले निषेधाज्ञा सफल भइरहेको बताउनुले भने शुक्रबार पनि यही नियति दोहोरिने हो कि भन्ने चिन्ताले सताउन थालेको छ।

काठमाडौंमा बिहीबार कार्यालय समयमा लागेको गाडीको लर्कोले निषेधाज्ञालाई पूरै बिर्साइदिएको देखियो । ट्राफिक प्रहरीको उल्लेख्य उपस्थिति भए पनि सडक सधैैँजस्तै जाम भए ।

सरकारले कोरोना भाइरसको संक्रमण उपत्यकामा भुसको आगो जसरी फैलियो भनेर बिहीबारदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको हो । तर, सडकमा बिहीबार देखिएको दृष्यले निषेधाज्ञा निष्प्रभावी भएको छ ।

सरकारले जारी गरेको दुई साता लामो (निषेधाज्ञा) को पहिलो दिनमै सयौँ ‘परिचयपत्रधारी’ हरू कार्यालय समयमा एकै पटक सडकमा निस्किँदा ठाउँ–ठाउँमा जाम हुन पुग्यो ।

भद्रकालीमा केहीको गाडी रोकिएको थियो । बिहानैदेखि जिल्ला प्रशासनले जारी गरेको निर्देशनअनुसार परिचयपत्र लगाएर हिँड्दा पनि ट्राफिक प्रहरीले रोकेको गुनासो सर्वसाधारणले गरे । ट्राफिक प्रहरीले कसैलाई त्यत्तिकै छाडेको र तरकारी लिन जानेलाई पनि रोकेकोमा सर्वसाधारणको असन्तुष्टि जनाए ।

निषेधाज्ञामा तोकिएको समयभन्दा अरू बेला घरबाहिर निस्केर सरकारी अवज्ञा उल्लंघन नगर्न सर्वसाधारणलाई आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आग्रह गरेका छन् । यस्तै, शुक्रबारदेखि भने कडाई गर्दै लैजाने तयारी गरिएको पराजुलीले दावी गरेका छन् ।

धेरैले यो पटकको निषेधाज्ञालाई निकै खेलाँची सोचेको पाइएको छ । गत वर्षको लकडाउन जस्तो नभएको भन्दै यसलाई अवज्ञा गर्ने क्रम बढेको छ । यदि सरकारले निषेधाज्ञालाई कडाईका साथ पालना नगर्ने हो भने आगामी दिनमा यो झन् निष्प्रभावी बन्ने देखिन्छ । र, सबै सडकमा अवज्ञा गर्दै निस्किए भने आगामी दिन भयावह हुने निश्चित छ ।

बिहीबार मात्रै कोरोना संक्रमित र मृतकको संख्यामा रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १३ हजार पाँच सय ६० जनाको पीसीआर परीक्षण गर्दा चार हजार नौ सय २८ जनामा संक्रमण देखिएको छ । यस्तै, ३५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्