दृष्टिका १० हेडलाइन्स् : काठमाडौं उपत्यकामा निषेधाज्ञा निष्प्रभावीदेखि उच्च संख्यामा कोरोना पुष्टिसम्म « Drishti News – Nepalese News Portal
Logo

दृष्टिका १० हेडलाइन्स् : काठमाडौं उपत्यकामा निषेधाज्ञा निष्प्रभावीदेखि उच्च संख्यामा कोरोना पुष्टिसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कोरोना भाइरसको संक्रमणको चेन ब्रेक गर्न भन्दै काठमाडौं उपत्यकामा बिहिवारदेखि निषेधाज्ञा लागु, पहिलो दिन नै निषेधाज्ञा निष्प्रभावी, सडकमा सधैँको झैँ जाम, शुक्रबारदेखि कडाई गरिने जिल्ला प्रशासन कार्यालयको दावी, नागरिकबाटै निषेधाज्ञा अवज्ञा हुँदा कोरोना भाइरसको संक्रमण फैलने जोखिम कायमै ।

२. नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितको मृत्युमा रेकर्ड, २४ घण्टामा चार हजार ८ सय ३१ संक्रमित थपिए, ३५ जना संक्रमितको मृत्यु, देशभर ४ सय ४४ जनाको आइसीयू र भेन्टिलेटरमा उपचार हुँदै, काठमाडौं उपत्यकाका १४ विभिन्न अस्पतालमा १ सय ७२ संक्रमित आइसीयूमा र भेन्टिलेटरमा, नेपालको कोरोना संक्रमणदर भारतको जस्तै अघि बढेको महामारी विज्ञहरुको दावी ।

३. गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा मन्त्रालय फुटाएर मन्त्रिपरिषद विस्तार, युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङ उर्फ दीपक मनाङ्गे नियुक्त, सपथ ग्रहण गर्दै बिहीबार नै पद्भार ग्रहण, मन्त्रालयमा परिवर्तन ल्याउन सक्ने मोडालिटी आफूसँग रहेको दावी, सरकार धेरै नटिकेपनि सरकार रहेसम्म उत्कृष्ठ काम गरेर देखाउने गुरुङको प्रतिबद्धता ।

४. गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिम शाही अस्पताल भर्ना भएको विषय छानविन गर्न तीन दलको माग, सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको आरोप, सभामुख र सांसदको सुरक्षाको ग्यारेन्टी गर्न तीन दलको माग, अस्पताल बाहिर ठूलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन हुनु गम्भीर भएको निष्कर्ष, अविश्वासको प्रस्तावमा आफू अडिग रहेको भएपनि स्वास्थ्य प्रतिकुल नै भएको सांसद शाहीको स्वकारोक्ति ।

५. लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरित मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का चार जना प्रदेश सभा सदस्यबाट मुक्त, सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे प्रदेश सभा सदस्यबाट मुक्त भएको प्रदेश सभा सचिवालयको भनाइ, चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कारिणी समितिबाट नभएको भन्दै अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा अर्को पत्र पठाइयो ।

६. वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ ६मा, पाँच राजनीतिक दल निर्वाचनमा आयोगमा दर्ता, आयोगद्वारा दर्ता टुंग्याउँदै निर्वाचन चिन्ह, क्रम निर्धारण तथा मतदाता नामावलीको विषयमा निर्णय, सूर्य चिन्ह सहित नेकपा एमाले शीर्ष स्थानमा, रुख चिन्हसहित कांग्रेस दोस्रो र हसिया हथौडाको चिन्हसहित माओवादी तेस्रो स्थानमा दर्ता ।

७. ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसालियो, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङद्वारा संयुक्तरुपमा स्वीच थिचेर सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ, प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्ने, जलबिद्युत आयोजनामा अपर तामाकोशी महत्वपूर्ण गौरबको आयोजना भएको मन्त्री नेम्बाङको भनाइ, कुल लागत ३५ अर्ब लाग्ने अनुमानका साथ आयोजना बनाउन थालिएपनि कुल लागत ८६ अर्ब नाघ्ने अनुमान ।

८. साताको अन्तिम कारोबार दिन अधिकांश उपसूचक हरियो, ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार, महिला लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३ हजार रुपैयाँ नाघ्यो, कोरोनाको दोस्रो लहरले दूरसञ्चारका परियोजना पुनःप्रभावित, जेठदेखि आउने भनिएको एमडिएमएस अलपत्र ।

९. पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसी बीचको खेल एक–एक गोलकोे बराबरीमा सकियो, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा तय भएको पाँचौ पोखरा स्पोर्ट्स अवार्ड कोरोना भाइरसका कारण स्थगित, डि ककको अर्धशतकमा मुम्बई इन्डियन्सद्वारा ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी– ट्वान्टी क्रिकेटमा तेस्रो जित दर्ता, राजस्थान रोयल्स् ७ विकेटले पराजित ।

१०.र, भारतमा एकैदिन ३ हजार ६ सय ४७ कोरोना भाइरसका संक्रमितको मृत्यु, थप ३ लाख ७९ हजार संक्रमित, आफ्ना नागरिकलाई भारत छाड्न अमेरिकाको आग्रह, स्वास्थ्य प्रणाली ध्वस्त भइसकेको टिप्पणी, आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा हस्तक्षेप नगर्न चीनलाई ताइवानको चेतावनी ।

प्रतिक्रिया दिनुहोस्