Logo
Logo

महामारी रोकथामका लागि सम्पूर्ण शक्ति लगाउन निर्देशन


दृष्टि संवाददाता


धनुषा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणमा सम्पूर्ण शक्ति प्रयोग गर्न निर्देशन दिएका छन् । शुक्रबार प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले कोरोना महामारीका विषयमा जानकारीका लागि आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल सम्वाद गर्दै जसरी भएपनि महामारी नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेकाले सोको अवस्था, रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास तथा आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सुझाव लिनका मुख्यमन्त्री राउतले शुक्रबार संवाद गरेका हुन् ।

मुख्यमन्त्री राउतले कोरोनाको जाँचका लागि प्रदेश सरकारले आठवटै जिल्लामा पिसीआर मेसिन सञ्चालनमा ल्याइसकेको हुँदा जाँचमा समस्या नहुने बताए । यस्तै, छलफलमा प्रजिअहरुले कोरोना महामारी नियन्त्रणका लागि आठवटै जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।

भर्चुअल सम्वादमा प्रदेश सरकारका तर्फबाट प्रमुख सचिव गोकर्णमणि दवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्