Logo
Logo

आर्थिक वृद्धिदर चार प्रतिशत हुने तथ्यांक विभागको प्रक्षेपण


दृष्टि संवाददाता


काठमाडौं । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर चार प्रतिशत हाराहारीमा रहने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको विभागको प्रक्षेपित प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर आधारभूत मूल्यमा ३ दशमलव ९८ प्रतिशत कायम रहने देखिएको हो ।

विभागले चालू आर्थिक वर्षको ९ महिनाको अवधिलाई लिएर गरेको अध्ययनले सरकारले लिएको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने देखाएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा ७ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि कायम हुने आकलन गरेको थियो । तर लक्ष्यभन्दा झण्डै साढे ३ प्रतिशत कमको वृद्धिदर हुने प्रक्षेपण तथ्याङ्क विभागले गरेको हो ।

सरकारले चालू आर्थिक वर्ष सुरु हुँदा नै कोरोनाको संकट कम हुँदै जाने आकलन गर्दै दर अनुमान गरेको थियो । सोहीअनुसारको आर्थिक गतिविधि हुने सरकारी आकलन थियो। यसअनुसार नै आर्थिक वृद्धिदरको लक्ष्य प्रस्तुत गरेको थियो ।

तर आर्थिक गतिविधिको अवस्था कोरोनाकै कारण लामो समयसम्म प्रभावित भएको विभागको अध्ययनले देखाएको छ । परिणामतः आर्थिक वृद्धिदरमा कमी आएको हुनसक्ने विभागको आकलन छ। चालू आवको पहिलो चौमासिकमा त नेपालको आर्थिक वृद्धि ऋणात्मक नै देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्