Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोनाले भयावह रूप लिँदै देखि सरकार जिम्मेवारीबाट पन्छिदैसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कोरोना भाइरसको संक्रमण बढेसँगै सीसीएमसीद्वारा थप पाँच जिल्लामा निषेधाज्ञा जारी, भारतसँग सीमा जोडिएका २२ नाका बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस, सबै सरकारी कार्यालय सञ्चालन नगरी एक चौथाइ मात्र खोल्ने निर्णय, सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्ने, सञ्चालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै रहने गरी सञ्चालन गर्न पनि निर्देशन ।

२. २२ जिल्लामा थेग्नै नसक्ने गरी कोरोना भाइरसको संक्रमण फैलिएको सरकारको निष्कर्ष, कोरोना संक्रमितलाई शय्या उपलब्ध गराउन नसकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ, एक महिनाका लागि मात्रै स्वास्थ्य सामग्री पुग्ने आकलन, थप सामग्री खरिद गर्ने तयारी अघि बढाइयो, कोरोना रोकथामका लागि सबै जिम्मेवार बन्नुपर्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको जोड ।

३. २४ घण्टामा थपिए ५ हजार सात सय २७ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्रै एकैदिन तीन हजारमा संक्रमण पुष्टि, ३३ जना संक्रमितले ज्यान गुमाउँदा देशभर ३३१ जनाको आइसियु र ११५ जनाको भेन्टिलेटरमा उपचार हुँदै, कोरोना संक्रमित हुने जिल्लाको संख्या ७० पुग्यो ।

४. सरकारकै कारण देशभर कोरोना भाइरसको दोस्रो लहर फैलिएकोमा नेपाली कांग्रेसको निष्कर्ष, प्रधानमन्त्री ओलीले अधुरा कामलाई नै उद्घाटन, भिडभाड र तडक–भडक देखाउँदै संक्रमणले भयावह रूप लिएको सभापति शेरबहादुर देउवाको आरोप, एमसीसी देशको हितमा रहेकाले यथाशीघ्र अघि बढाउन सरकारलाई सुझाव ।

५. जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको खुलासा, लुम्बिनी प्रदेशका चार सांसदलाई कारवाही गर्ने प्रक्रिया पनि सोही बैठकबाट पारित, बैठकको निर्णयमा असन्तुष्टी जनाउँदै महन्थ ठाकुरले गुहारे निर्वाचन आयोग, सत्ता सहकार्य ओलीसँगै गर्ने ठाकुर र राजेन्द्र महतो समूहको प्रतिक्रिया ।

६. अस्पतालमा उपचारका क्रममा रहँदा कोरोना संक्रमण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन, बस्न्यातले आफूलाई सामान्य तारिखमा राख्नुपर्ने माग, निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाई हुने ।

७. वागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकियो, निर्वाचन आयोगद्वारा आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदान केन्द्र निर्धारण, मकवानपुर, हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविलाई मतदानस्थल बनाइयो ।

८. चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर चार प्रतिशत हाराहारीमा रहने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण , तेस्रो त्रैमासिकसम्मको विभागको प्रक्षेपित प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर आधारभूत मूल्यमा ३ दशमलव ९८ प्रतिशत कायम रहने, बैंक र सरकारी कार्यालयमा एक चौथाई मात्रै कर्मचारी राख्न पाउने सीसीएमसी बैठकको सिफारिस, लक्ष्मी इन्टरकन्टिनेन्टलले सुरु ग¥यो हटलाइन सेवा, हुण्डाइ गाडीका ग्राहकलाई आपतकालिन सेवा, नासा सेक्यूरिटिजले एकै दिनमा डिम्याट खाता खोल्ने, अनलाइनबाटै आवेदन दिन सकिने ।

९. नेपाल क्रिकेट संघ (क्यान) द्वारा सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित, कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय, पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत काठमाडौं रेजर्स र पोखरा थन्डर्सले गोलरहित बराबरी खेल्दै अंक बाडे, इण्डियन प्रिमियर लिग (आइपीएल)मा शुक्रबार पञ्जाब किंग्स र रोयल चैलेन्जर्स भिड्दै ।

१०.र, भारतमा २४ घण्टामा थपिए ३ लाख ८६ हजार बढी कोरोना संक्रमित, महामारी नियन्त्रण बाहिर गएपछि भारतीय प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद, नागरिकको समस्या सुन्न मन्त्रीलाई निर्देशन, भारतीय टेलिभिजन आजतकका पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट निधन, धार्मिक कार्यक्रममा भागदौड हुँदा इजरायलमा कम्तीमा ३८ जनाको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्