Logo
Logo

हरेक दिन सांसद अनुपस्थित गराउने मुख्यमन्त्री गुरुङको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । बागलुङ–२ (ख)का प्रदेश सभा सदस्य खिमविक्रम शाही कोरोना संक्रमण भएर आइसीयुमा भर्ना भएसँगै गण्डकी प्रदेशसभा अनिश्चित समयका लागि स्थगित छ ।

सांसद शाही सम्पर्कविहिन भएको भन्दै राष्ट्रिय जनमोर्चाले सभामुख नेत्रनाथ अधिकारी समक्ष उजुरी दिएपछि प्रदेशसभा अनिश्चित समयका लागि स्थागित गरिएको थियो । सम्पर्कविहिन भनिएका सांसद शाही पछि कोरोना संक्रमण भएर आइसीयुमा उपचार गराइरहेको अवस्थामा भेटिएका थिए । तर, प्रदेशसभा भने कहिले सुरु हुने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।

प्रदेश सभा अनिश्चित समयका लागि स्थागित भएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव समेत अन्योलमा परेको छ । अविश्वास प्रस्ताव दर्ता गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी भने मौन छन् ।

अविश्वास प्रस्तावमा मतदान गर्ने निर्णय गरेको जनमोर्चा पनि चुपचाप छ । तर, सरकारवादी दल नेकपा एमाले भने खुलेरै सभामुखविरुद्ध लागेको छ । गैर संवैधानिक रुपमा प्रदेशसभा अनिश्चित समयका लागि स्थगित गरिएको भन्दै सभामुखको चर्को आलोचना भइरहेको छ । सभामुखविरुद्ध मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ चर्को रुपमा उत्रेका छन् ।

मुख्यमन्त्री गुरुङले अनलाइन न्यूज पोर्टल नेपालप्रेससँगको अन्र्तवार्तामा भनेका छन्– ‘सभामुखले जे नजीर स्थापना गर्नुभा’छ, केही साथीहरु आएनन् भनेर पक्षपातीपूर्ण काम जे गर्नुभा’छ, पार्टीको कार्यकर्ता भएर सभामुखले काम गर्नुभा’छ । यसले प्रदेश सभा सञ्चालन हुन सक्दैन ।’

मुख्यमन्त्री गुरुङले अब हरेक दिन संसद चलन नदिने समेत चेतावनी दिएका छन् । उनले भनेका छन्– ‘मेरो एकजना सांसदलाई अनुपस्थित गराउँछु । मेरो सांसद हरायो भने निवेदन हाल्छु । तपाईंले फेरि अनिश्चित कालका लागि संसद स्थगित गर्नुपर्छ । तपाईंहरुलाई प्रदेश सभा सञ्चालन गर्नका लागि कुनै नैतिक अधिकार रहँदैन । यो अनिश्चय, अनिर्णयको बन्दी गराउन, अस्थिरता चाहने शक्तिहरुको गोटी बनेर अस्थिरताको कारक बन्नु भो । यसमाचाहिँ मेरो विरोध हो ।’

गण्डकी प्रदेशमा आफ्नो सरकार ढल्ने भएपछि नेकपा एमालेले सांसद किन्न खोजेको अविश्वास प्रस्ताव दर्ता गर्ने पक्षले आरोप लगाएका छन् । गण्डकीका एक नेता भन्छन्– ‘अनैतिक रुपमा सांसद किन्ने खेल चलेको थियो । त्यो क्रम जारी छ । यो संसदीय अभ्यासको बर्खिलापमा छ ।’
त्यति मात्र होइन । मख्ुयमन्त्री गुरुङले सरकार जोगाउन आपराधिक कृयाकलापमा संलग्नको साथ लिएको समेत आरोप लाग्ने गरेको छ ।

गुण्डा नाइके दीपक मनाङ्गेलाई खेलकुदमन्त्री बननाएको बिषयलाई जोडेर मुख्यमन्त्री गुरुङविरुद्ध यस्तो आरोप लगाइएको हो ।
सरकार पक्षले भने अविश्वासको प्रस्ताव फेल हुने भएपछि सांसद हराएको नाटक गरिएको र सोही योजनाअनुरुप सभामुखले असंवैधानिक रुपमा संसद स्थगित गरेको भन्दै विरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्