कम्युनिष्ट आन्दोलनको थप ब्याख्या र सैद्धान्तिकरण आवश्यक « Drishti News – Nepalese News Portal
Logo

कम्युनिष्ट आन्दोलनको थप ब्याख्या र सैद्धान्तिकरण आवश्यक


मिलन लिम्बू


समाज रुपान्तरणको प्रश्न र जिम्मेवारीले असामान्य रुपमा दुनियाँ लपेटिएको छ । उच्चतम उन्नत समाज सबैको परिकल्पना हो । दुनियाँ त्यसैमा तल्लिन छ ।

समाज रुपान्तरका चरण वा प्रक्रियामा अनेक विचार, सिद्धान्त र पद्दतिको कुनै न कुनै पक्षबाट योगदान छ । त्यसमध्ये एक हो, माक्र्सवादी दृष्टिकोणमा आधारित कम्युष्टि पद्दति । समाजवादी समाजको परिकल्पना कम्युनिष्ट पद्दतिको उच्चतम् विन्दु हो । अर्थात्, समानतामा आधारित समाज । जहाँ वर्ग वा कुनैपनि किसिमको विभेद हुँदैन ।

विश्वमा चलेको समाजवादी हावाले नेपाली युवालाई पनि सप्को मारेर गयो । सात दशक अगाडि कमरेड पुष्पलालको नेतृत्वमा नेपाली युवाले कम्युनिष्ट पद्दतिबाट समाजवादी सपना देखे । त्यसैको नाम थियो, नेपाल कम्युनिष्ट पार्टी ।

नेपाली कम्युनिष्ट आन्दोलनको सात दशक फगत वर्षहरु थिएनन् । यो अवधिमा जति राजनीतिक परिवर्तन भए ति सबै प्रक्रियामा कम्युनिष्ट आन्दोलनको योगदान छ । यो सात दशकमा कम्युनिष्ट भन्नेबित्तिकै गोली ठोक्ने र कम्युनिष्ट भन्नेवित्तिकै श्रद्धाले अर्पण गर्ने दुवै परिवेश बन्यो । यसको मतलव सात दशकको अवधिमा कम्युनिष्ट आन्दोलन एउटा ग्राफमा रहयो ।

समाज परिवर्तनका मुद्धाहरु वर्षौ वर्षसम्म आन्दोलनकै क्रममा रहन्छन् । थुप्रै उदाहरण छन् । विश्वमा आफूलाई सबैभन्दा शक्तिशाली र सम्मुनत ठान्ने अमेरिकीहरु अझैपनि रंगभेदजस्ता अमानविय र घृणित समस्याहरुमा रुमलिएका छन् ।

विश्वका धेरै देशका मानिस आज पनि मानव विकासक्रमको अघिल्लो चरणकै जिन्दगी बाँचिरहेका छन् । तर, नेपालमा समाज परिवर्तनका मुद्धा जुन गतिमा दौडियो, त्यसमा कम्युनिष्ट आन्दोलनको ठूलो योगदान छ । अन्यायविरुद्ध बिद्रोह गरेर अधिकार सम्पन्न हुनुपर्छ भन्दै समाजको अगुवाई गर्ने कम्युनिष्ट नै हुन् ।

समाज बिकासको सपना देख्न सिकाउने पनि कम्युनिष्ट नै हुन् । त्यसैले छोटो संघर्षकै चरणमा कम्युनिष्टले नेपाली राजनीतिमा पकड जमाए, राज्यसत्ता विधिवत र संवैधानिक प्रक्रियाबाट कब्जा गरे ।

राज्यसत्ता कब्जा गर्दै बहुसंख्यक श्रमजीविको पक्षमा काम गर्ने लक्ष्य र उद्देश्य नलिएको भए नेपालमा कम्युनिष्ट शक्तिको ल्याकत यति शक्तिवान हुँदैन थियो । नेपालमा अधिक परिकल्पना गरिने तर, आक्कल झुक्कल मात्र प्राप्त हुने दुईतिहाइ जनमतको हकदार त्यसै बनेका होइनन, नेपालका कम्युनिष्ट ।

सदियौँदेखिको उत्पीडनबाट मुक्ति पाइन्छ भन्ने अपेक्षामा नेपाली जनता कम्युनिष्ट शक्तिलाई सर्वशक्तिमान बनाउन तयार भएका हुन् । यसको मतलव नेपाली कम्युनिष्ट आन्दोलनप्रति जनताको अविछिन्न आशा र अपेक्षा छ । हरेक निर्वाचनमा कम्युनिष्ट शक्तिको मत बढ्दै जानुले पुष्टि गर्छ । तर, जनताप्रति कम्युनिष्ट कति इमानदार र वफादार छन् भन्ने प्रश्न पेचिलो हुन्छ ।

नेपालको सन्दर्भमा आधारभूत श्रमजीवी वर्ग नै निर्णायक पनि हुन् । तर, निर्णायक वर्गको नेतृत्वकर्ता कम्युनिष्टहरु व्यवहारमा आफ्नो वर्गप्रति इमानदार र वफादार हुन सकेनन् । बारम्बार कुनै न कुनै रुपमा आफ्नै वर्गलाई धोका दिने काम कम्युनिष्टबाट भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीलाई पहिलो पटक विभाजन गरेर फुटको बाटो खन्नेदेखि नेपाली जनताले दिएको ऐतिहासिक दुईतिहाइ जनमतलाई घाट पुर्याउनेसम्मका काम इतिहासले क्षमा गर्न नसक्ने गल्तीहरु हुन् ।

सात दशकको अवधिमा शोषणरहित समाजको परिकल्पनामा हजारौँले रगत बगाए । कम्युनिष्ट शक्तिलाई स्थापित गर्दै राज्यसत्ता कब्जा गर्ने अवस्थासम्म पुर्याउन लाखौँ लाख आधारभूत वर्गले योगदान गरे ।

विडम्बना ! दास स्वतन्त्र भएपछि एक पटक मालिककै नक्कल गर्छ भन्ने घृणित उदाहरणका पात्र बने, नेपालका कम्युनिष्ट नेतृत्व ! आज श्रमजीवि वर्गका प्रतिनिधि मालिक भएका छन्, आधारभूत वर्गलाई दास ठान्दै !

राज्यसत्ता कब्जा गर्दै बहुसंख्यक श्रमजीवी वर्गको पक्षमा काम गर्ने एकमात्र लक्ष्य थियो, नेपाल कम्युनिष्ट पार्टीको । पुष्पलालहरुले परिकल्पना यस्तै गरेका थिए । त्यो सपना ७ दशपछि पूरा हुने क्रममा थियो, वर्तमान सरकारको नेतृत्वमा ।

शान्तिपूर्ण राजनीतिबाट राज्यसत्ता कब्जा गर्न सकिने धारणा बोकेका मदन भण्डारी र बन्दुकको नालबाट राज्यसत्ता जन्मिन्छ भन्ने प्रचण्डहरु एकठाउँमा आइपुग्दा कम्युनिष्टले विधिवत र संवैधानिक रुपमा राज्यसत्ता कब्जा गरेका हुन् । यो शक्ति पुष्पलालहरुले देखेको सपना साकार पार्न काफी थियो । तर, आज फेरि धोका भएको छ । नेपाली जनताको चाहना र अभिमत बालुवामा पानी भयो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपा र नेकपाको नेतृत्वमा बनेको वर्तमान सरकारसँग अधिक सम्भावना थियो । जनपक्षीय काम गर्दै समाजवादी यात्रा तय गर्न सकिन्थ्यो । सरकारलाई सहज नै थियो । पार्टीको साथ मिलेकै थियो ।

दुईतिहाइको सरकारले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको ढोका खोल्छ भन्ने चाहना बनेकै हो । प्रतिपक्षी राजनीतिक दलले सत्तारुढ जस्तै साथ दिएकै हुन् । तर, सरकारमा पुगेका नेतृत्वका लागि जनपक्षीय कामभन्दा स्वार्थ प्रधान हुँदा आज कम्युनिष्ट आन्दोलन नै संकटमा परेको छ । देश कति पछि धकेलियो भन्ने हिसाबकिताब हुन सकेको छैन ।

भौतिक विज्ञानको सफलताले उच्चतम विन्दु कायम गर्दै गर्दा कम्युनिष्ट नेतृत्वले देखेका र देखाएका सपना पूरा हुन नसक्ने होइनन । नेपाली जनताले विकासका लागि देखेको सपना र गरेको अपेक्षा असम्भव होइन । तर, देखाएको सपना वा जनतासँग गरेको प्रतिवद्धता पूरा गर्ने चाहना नेतृत्वमा नहुँदा अवस्था यस्तो बनेको हो ।

नेतृत्व एकमत हुने र जनताको चाहनालाई सर्वोपरी ठान्ने हो भने कम्युनिष्ट नेतृत्वमै नेपालमा रेल हुइँकिन्थ्योे, पानीजहाजमा सरर यात्रा सम्भव थियो । घरघरमा ग्यासको पाइपलाइन पनि पुग्थ्यो । धरहरामा मात्र किन ? आइफल टावरलाई माथ खुवाउने अरु टावरहरु बन्ने थिए । विश्वलाई चकित बनाउन अभूतपूर्व सफलता सम्भव थियो । तर, कम्युनिष्ट नेतृत्वमा आएको विचलनले यी सबै अवसर पतनको संघारमा पुगेका छन् । ऐतिहासिक अवसर गुमाउनुपर्ने अवस्था भएको छ ।

भनिन्छ, प्रतिक्रान्तिले बेला–बेला टाउको उठाउँछ । हो, आज प्रतिक्रान्तिले निक्कै जोडबलका साथ टाउको उठाएको छ । प्रतिक्रान्तिका लागि अनेक प्रयास भइरहेका छन् । त्यसको पहिलो प्रयास थियो, नेकपालाई छिन्नभिन्न बनाउने । त्यो काममा प्रतिक्रान्ति चाहने शक्ति एक हदसम्म सफल भए । नेपाली जनताको अभूतपूर्व चाहनामा बनेको नेकपा आज बिस्मृतिमा सीमित भएको छ ।

प्रतिक्रान्तिमार्फत व्यवस्था नै समाप्त पार्ने योजना नबनेको होइन । प्रतिगमनको यात्रा हुँदै व्यवस्था समाप्त पार्न मदन भण्डारीकै समकक्षीहरु लामवद्ध भए । नेपाली जनताको चाहना अगाडि व्यवस्था समाप्त पार्ने प्रतिगमन टिक्न नसक्दा तत्कालका लागि संकट टरेको छ । तर, मोचन भएको होइन । खतरा सधैँ रहन्छ । मुर्दा नै भएपनि प्रतिक्रान्तिले टाउको उठाउने प्रयास गर्छ । त्यो प्रयास भइरहेको छ, कहिले अदालतबाट त कहिले राज्यकै अन्य निकायबाट ।

आन्दोलन भन्नुको अर्थ निरन्तर भन्ने हुन्छ । यस अर्थमा निरन्तर भन्न खोजिएको हो कि, कुनै न कुनै रुपमा आन्दोलन चलिरहन्छ । हो, कम्युनिष्ट आन्दोन पनि त्यस्तै आन्दोलन हो । जुन आन्दोलन धेरै पटक लालगद्दारबाट घाट पुर्याइयो । तर, नेपाली जनताले ढिलो चाँडो घाटबाट फिर्ता लिएर शिखर पुर्याएका छन् ।

बारम्बारको फुटबाट चोक्टा–चोक्टा बनेको नेपाली कम्युनिष्ट आन्दोलनलाई नेपाली जनताले नै जोडेका छन् । यसको अर्थ कम्युनिष्ट आन्दोलनसँग नेपाली जनता आशा र अपेक्षा पर्छन् । त्यसैले फेरि एक पटक धुलो टक्टक्याउँदै कम्युनिष्ट आन्दोलन उठाउनुपर्ने बेला भएको छ । गम्भीर समीक्षा र आत्मलोचनाबाट यो सम्भव छ ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई विशिष्ट रुपमा समीक्षा गर्नुपर्ने बेला भएको छ । यहाँका गलत प्रवृत्तिविरुद्ध निर्मम समीक्षा र प्रहार आवश्यक छ । कम्युनिष्ट विचार र सिद्धान्तबारे एक पटक निर्मम रुपमै सोच्नुपर्ने बेला भएको छ ।

यसको मतलव नेपाली कम्युनिष्ट आन्दोलनलाई फरक ब्याख्या र सैद्धान्तिकरण खाँचो छ । त्यो विन्दुबाट नेपाली कम्युनिष्ट आन्दोलनले गति लिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्