Logo
Logo

शव बोकेको जीप दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते


दृष्टि संवाददाता


धनगढी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो से १ ज १८३ नम्बरको जीप पञ्चेश्वर गाउपालिका–६ को गणमेश्वर मोडमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चालकको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

सोमबार राति चट्याङ लागेर ज्यान गुमाएका वडा सदस्यको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्