Logo
Logo

प्रकाश ज्वालाको स्पष्टीकरणमा यमलाल कँडेलमाथि आरोपै आरोप


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले कारबाही गरेको झण्डै दुई हप्तापछि एमालेका नेता प्रकाश ज्वालाले तीनपन्ने स्पष्टीकरणसहितको अपिल सार्वजनिक गरेका छन् ।

मन्त्रीबाट राजीनामा दिएपछि पार्टी एकताबद्ध गर्न निकै कोसिस गरे पनि केही व्यक्तिको दम्भले कर्णालीमा पार्टी एकतावद्ध हुन नसकेको दावी गरेको पत्र सार्वजनिक गरेका हुन् ।

ज्वालाले पार्टी नेतृत्वबाट सरकार गठन, सञ्चालन एवं पार्टी सञ्चालनमा विषयमा समेत संसदीय दलनका नेतासमेत रहेका यमलाल कँडेलले आफुहरु जस्तो जिम्मेवार कमरेडसँग कुनै समन्वय, परामर्श र छलफलसमेत नगरेर एकलौटी गुटगत ढंगबाट अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

अपीलमा भनिएको छ, ‘संसदीय दल र पार्टीलाई कम्युनिस्ट पद्धतिमा नभई गुटगत एकलौटी रुपमा चलाउने काम भयो । पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेको म स्वयंलाई जानकारी नै नदिएर प्रदेश कमिटीमा एकलौटे रुपमा इञ्चार्ज, सह इञ्चार्ज, अध्यक्ष, सचिव मनोनित गरियो । जिम्मेवार व्यक्तिलाई बिना कारण जिम्मेवारी विहीन बनाइयो ।’

पार्टीका नाममा गरिएका कुनै पनि भेला, बैठकमा आफुहरुलाई पूर्ण रुपमा निषेध गरिएको र यसरी गुटगत अत्याचारले सीमा नाघेपछि सत्य र निष्ठाका लागि भए पनि ‘फ्लोर क्रस’ गरिएको उनको भनाइ छ ।

उनले ‘फ्लोर क्रस’ नभइ पार्टी निर्णयअनुसार बनेको सरकारका पक्षमा मतदान गरेको स्पष्ट पारेका छन् । ‘यो पार्टी निर्णयको कार्यान्वयन हो । यो प्राविधिक र व्यक्तिगत विषय नभइ राजनीतिक निर्णय हो,’ उनले भनेका छन् ।

ज्वालाले प्रदेश सरकार गठनदेखि नै कँडेल समूहले कहिल्यै सहयोग नगरेको दावी गरेका छन् । वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको दुई हप्तापछि उनले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्