Logo
Logo

कोरोनाबाट मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख दिइने



विराटनगर । प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट पच्चीस लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

बैठकले बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरू संक्रमित भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय समेत भएको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन् ।

बैठकले कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरुको तलब स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्