Logo
Logo

अनियमितता गर्ने दुई एसपीसहित तीन प्रहरीमाथि गम्भीर विभागीय कारबाही




काठमाडौं । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा रहेका नेपाल प्रहरीका तीन अधिकृतमाथि प्रहरी प्रधान कार्यालयले कारबाही टुंगो लगाएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादब तथा इन्सपेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयले ग्रेड घटुवाको कारबाही गरेको हो ।


एसपी बस्नेत र यादबको पाँच ग्रेड तथा इन्सपेक्टर चौरसियाको चार ग्रेड घटुवा भएको छ । आर्थिक अनियमिततको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुलाई बिहीबार कारबाहीको निर्णय गरेको हो । ग्रेड घटुवालाई गम्भीर प्रकृतीको विभागीय कारबाही मानिन्छ । पाँच ग्रेड घटुवा हुँदा उनीहरु बढुवामा आफ्ना ब्याचीभन्दा पाँच वर्ष पछि पर्नेछन् । कारबाही टुंगो लागेपनि उनीहरुको निलम्बन फुकुवा अझै भएको छैन ।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले अनियमितता गरेको पाइएपछि गत १७ मंसिरमा गृह मन्त्रालयले निलम्बन गरेको थियो । थप छानबिन गरी उनीहरुलाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
एसपीद्वय यादब र बस्नेत छुट्टाछुट्टै समयमा प्रदेश ट्राफिक कार्यालयको इन्चार्जका रुपमा कार्यरत थिए । उनीहरुले ट्राफिक पोष्टहरुमा कर्मचारी खटाउँदा पैसा माग्ने गरेको छानबिनबाट पुष्टि भएको हो । कारबाहीमा परेका दुवै एसपी राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् ।
प्रहरी प्रधान कार्यालयले थप केही अधिकृतमाथि छानबिन गरिरहेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अनियमिततामा संलग्न जोकोहिलाई पनि कारबाहीको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्