Logo
Logo

वैदेशिक रोजगारीमा पर्ने असरबारे अध्ययन गर्दै सरकार



काठमाडौं । सरकारले कोरोना भाइरसको दोस्रो लहरका कारण वैदेशिक रोजगारीमा पर्ने असरबारे अध्ययन अगाडि बढाएको छ । कोरोनाको पहिलो लहरले पनि वैदेशिक रोजगारी प्रभावित भएको थियो ।

अहिले कोरोनाको दोस्रो लहर शुरू भएसँगै यसले पनि वैदेशिक रोजगारी प्रभावित हुने भएपछि सरकारले यस सम्बन्धमा अध्ययन अगाडि बढाएको हो । वैदेशिक रोजगार विभागले यस सम्बन्धमा अध्ययन अगाडि बढाएको हो ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले कोरोनाको दोस्रो लहरका कारण वैदेशिक रोजगारीमा परेको असरबारे अध्ययन अगाडि बढाएको बताए । परराष्ट्र मन्त्रालय र म्यानपावर व्यवसायीहरूको संगठनसँगको सहकार्यमा अध्ययन अगाडि बढाइएको उनको भनाइ छ ।

विभागले परराष्ट्रय मन्त्रालयलाई श्रम गन्तव्य मुलुकका दूतावासबाट वैदेशिक रोजगारीमा परेको असरबारे विवरण संकलन गरिदिन अनुरोध गरेको छ । साथै, म्यानपावर व्यवसायीहरूबाट पनि यससम्बन्धी आवश्यक विवरण तथा तथ्यांकहरू मगाइएको विभागको भनाइ छ ।

‘कोरोनाको दोस्रो लहरले श्रम गन्तव्य मुलुकको अवस्था के छ ? विदेशमा रहेका नेपाली कामदारलाई के कस्तो असर भएको छ ? उनीहरूको अवस्था के छ ? यी यस्ता विषयमा श्रम गन्तव्य मुलुकका दूतावासबाट आवश्यक विवरण उपलब्ध गराउन परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेका छौं,’ उनले भने, ‘साथै, म्यानपावर व्यवसायीबाट पनि यससम्बन्धी तथ्यांक मगाएका छौं । उनीहरूबाट तथ्यांक प्राप्त भएपछि थप अध्ययन तथा छलफल गरेर निचोडमा पुग्ने छौं ।’

अध्ययनपश्चात् वैदेशिक रोजगारीसम्बन्धी आवश्यक नीतिगत व्यवस्था तथा सुधार गर्न सकिने उनको भनाइ छ । साथै, राहत आवश्यक परेमा पनि सम्बद्ध मन्त्रालय तथा निकायहरूलाई सिफारिश गरिने दवाडीको भनाइ छ ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्