Logo
Logo

वर्षासँगैको बाढीले साँफे–मार्तडी सडक अवरुद्ध, २५ रोपनी जमिन बगरमा परिणत



बाजुरा । बिहीबार दिउँसोको अविरल वर्षाका कारण साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । बुढीगंगा नगरपालिकास्थित ताप्रीसेरा घट्टेखोलामा आएको बाढीले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो । निरन्तरको वर्षातले जिल्लाका विभिन्न स्थानमा ठूलो मात्रामा क्षति पु¥याएको छ ।

उक्त बाढीले स्थानीयको २५ रोपनी जग्गा समेतलाई बगरमा परिणत गरिदिएको छ । २५ रोपनी जमिनमा लगाइएको गहुँबालीसहित जमिन नै बगरमा परिणत मदन थापाले जानकारी दिनुभएको छ । एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने अर्कोतिर बाढीले पाक्नै लागेको गहुँसहित जमिन बगरमा परिणत भएपछि स्थानीयवासी चिन्तित भएको थापाको भनाइ छ । यस्तो विषम परिस्थितिमा वर्षाले जिल्लाको विभिन्न ठाउँका सडकमा पहिरो खस्न थालेपछि सडकहरु अवरुद्ध बन्दै गएका छन् । जसले गर्दा जिल्लामा खाद्यान्न संकट हुने संकेत देखिन्छ ।

वर्षाले जिल्लाका विभिन्न स्थानमा हिउँदे बालीसँगै तरकारी बाली नष्ट पारिदिएको विभिन्न ठाउँबाट कृषकले जानकारी दिएका छन् । बर्खे सिजनका लागि राखिएका तरकारीका बेर्नासमेत बगाएर सखाप पारीदिएको किसानहरुले बताएका छन् ।

बाढीले साँफे–मार्तडी सडक अवरुद्ध बनेपछि खाद्यान्न तथा अत्यावश्यक सवारी साधन दुवैतर्फी ठप्प भएका छन् । बाढीले सडक भत्काएपछि दुवैतर्फीका सवारी साधन आवतजावत बन्द भएको बताइएको छ । थप क्षतिका बारेमा जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका सूचना अधिकारी देवेन्द्र जोशीले जानकारी दिनुभएको छ । विभिन्न स्थानका सडक अवरुद्ध बनेपछि बिरामीलाई थप समस्या भएको स्थानीयवासीले बताएका छन् । बुधबार मात्र वर्षाले मार्तडी–गौमुल सडक अवरुद्ध भएको छ ।

कुडीखोलाले २ गाई र १ भैँसी बगायो, आधा दर्जन पशुचौपाया घाइते

बुढीगंगा नगरपालिका–१ कुडीमा २ गाई र १ भँैसी मरेका छन् । अत्याधिक वर्षासँगैको बाढीले बगाउँदा २ गाई र १ वटा भैसी मरेका हुन् । खहरेखोलामा आएको बाढीले बगाउँदा आधा दर्जन पशुचौपाया घाइते अवस्था भेटिएको जिल्ला प्रहरी कार्यलय बाजुरा सूचना अधिकारी जोशीले जानकारी दिएका छन् ।

बुढीगंगा नगरपालिका–१ कुडी निवासी ठक्करबहादुर सिहंका २ गाई र एक भैसी बाढीले बगाउँदा मरेका छन् भने ३ वटा गाई घाइते अवस्थामा भेटिएको प्रहरी निरीक्षक जोशीले बताए । सोही ठाउँका गोकुलबहादुर सिहंका २ भैसी घाइते अवस्था फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । साथै कुडीखोलामा आएको बाढी सिँचाइ कुलो र पानी पोखरी भत्काएर पूर्णरूपमा क्षति पु¥याएको छ ।

त्यस्तै बडिमालिका नगरपालिका–४ तिपाडामा रहेको अरिङ्गाले खोलाले टीका नाथको खुद्रा पसल बगाएको छ । बाढीले पसलमा भएको सबै सामान र पसल वरिपरि लगाइएको तरकारी बाली बगाएको हो । पसल नजिकै रहेको कुखुरा फार्मसमेत बगाइदिएको स्थानीय नरेन्द्र नाथले जानकारी दिए । अझै कति क्षति भएको छ भन्ने बारेमा यकिन जानकारी नभएको नाथको भनाइ छ । खोलाले दुई गाई बगाएर ल्याएको पनि उहाँले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्