Logo
Logo

संवैधानिक परिषद् बैठकमा सभामुख र कांग्रेस सभापति नजाने


दृष्टि संवाददाता


काठमाडौं । संवैधानिक परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोट र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध सभामुख सापकोटाले दायर गरेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै आइतबार बिहानका लागि बोलाइएको बैठकमा सभामुख सापकोटा सहभागी नहुने भएका हुन् ।

यस्तै, प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति देउवा पनि बैठकमा उपस्थित नहुने भएका हुन् । सरकारले संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा जान उपयुक्त नहुने भन्दै देउवा पनि बैठकमा सहभागी नहुने भएका हुन् ।विश्वासको मत लिने अघिल्लो दिन बैठक बोलाएकाले देउवा अनुपस्थित हुने भएका हुन् ।

अघिल्ला दुईवटा बैठकमा सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थिति भएका थिएनन् ।सोही कारण ओली सरकारले ०७७ मंसिर ३० गते प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।

अध्यादेश जारी गराएसँगै ०७७ मंसिर ३० गते नै प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनासहित तीन जनाको बैठक बसेको थियो।

सोही बैठकले संवैधानिक निकायहरुमा ३२ जनालाई नियुक्त गरेको थियो। त्यसप्रति सभामुख सापकोटा असन्तुष्ट थिए।

प्रतिक्रिया दिनुहोस्