Logo
Logo

विवाह भोजमा सहभागी २५ जनामा कोरोना


दृष्टि संवाददाता


बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ ।

सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पिसिआर परीक्षण गरेको थियो ।

बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यति धेरै जनामा सङ्क्रमण देखिनु स्थानीयवासीको हेलचक्र्याइँ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले जानकारी दिए । गाउँपालिकामा सङ्क्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाइ छ ।

गाउँ कोरोना सङ्क्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशनमै राखिएको अध्यक्ष मगरको भनाइ छ । गाउँमा सङ्क्रमण बढ्दै गएपछि स्थानीयवासीमा त्रास छाएको छ ।

अहिले सङ्क्रमितहरुलाई ज्वरो आउने तथा रुघा खोकीलगायतका लक्षण देखिएको छ । केही दिनअगाडि गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिसहरु सहभागी भएको बताइएको छ ।

उक्त विवाहमा करिब ४ सय सहभागी भएको स्थानीयको भनाइ छ । विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उहाँको मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्