Logo
Logo

ललितपुरमा सिडिओको निर्णयः बिरामीलाई एम्बुलेन्स निःशुल्क


दृष्टि संवाददाता



काठमाडौं । कोभिड–१९ का बिरामीलाई ललितपुरमा एम्बुलेन्स निशुल्क उपलब्ध गराइने भएको छ । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकार ललितकुमार बस्नेतको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकको निर्णयमा भनिएको छ,‘ कोभिड विरामीको लागि १०२ नम्बरमा सम्पर्क गर्न अनुरोध गर्ने र एम्बुलेन्स सेवा निशुल्क रुपमा उपलब्ध गराउने। कोभिड–१९ का बिरामी बोक्न प्रयोग गरिएको डेडिकेटेट एम्बुलेन्सको लागि लागेको खर्च जुन पालिकाको क्षेत्रवाट बिरामी अस्पतालसम्म पुर्याइन्छ सोहि स्थानिय तहले नै व्यहोर्ने व्यवस्था गर्ने र यसको लागि सम्बन्धित पालिका प्रमुखसँग छुट्टै बसी थप निर्णय गर्ने ।’बैठकले जिल्लाभरीका एम्बुलेन्सलाई १०२ मा आबद्ध गराउने निर्णय पनि गरेको छ ।


ललितपुर जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सलाई अनिवार्य रुपमा बैशाख मसान्त भित्र जिपिएस जडान गर्न लगाउने निर्णय समेत भएको छ । त्यसका लागि रेडक्रस सोसाइटी ललितपुर शाखाले समन्वय गर्ने र सोको अनुगमन गरी तत् पश्चात जिपिएस जडान नभएका एम्बुलेन्स सञ्चालन रहेको पाइएमा नियमानुसार कारवाही गर्ने र जिपिएस जडान नभएका एम्बुलेन्स ललितपुर जिल्लामा संचालनमा रोक लगाउने निर्णय भएको सहायक सिडिओ बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्