Logo
Logo

एमाले विभाजन भए माधव-झलनाथतिर लाग्ने वामदेवको घोषणा


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल पक्षले पार्टी विभाजन गरे आफू त्यसमा सहभागी हुने बताएका छन् । अध्यक्ष केपी ओलीसँगको छलफलपछि गौतमले दुई बुँदे धारणा सार्वजनिक गरेका हुन् ।

गौतमको सचिवालयले नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेको हो । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई जेठ २ सम्मको निर्णय मानेर अगाडि बढ्न प्रस्ताव गरेकोमा ओलीले आफू त्योभन्दा धेरै अघि बढिसकेको जवाफ दिएका थिए ।

‘यदि उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु’ गौतमको भनाइ छ । तर अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमको भनाइ छ ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले लेखेका छन्

नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क। वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।

१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा ९एमाले० को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा उपाध्यक्ष वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।

२. क. माधव नेपालहरुका सन्दर्भमा
वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा ९एमाले० मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

प्रतिक्रिया दिनुहोस्