Logo
Logo

महन्थ ठाकुरले भने हामी तटस्थ रहन्छौँ


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत माग्ने प्रस्तावमा तटस्थ बस्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले जसपाले यो सरकारले मागेको विश्वासको मतमा तटस्थ रहने बताएका हुन् ।

सम्बोधनका क्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले राजनीतिक आन्दोलनका दौरान मुद्धा चलाइएका केहीको मुद्धा फिर्ता लिइएपनि सबैको मुद्धा फिर्ता हुनुपर्ने माग गरे ।

आफूहरु प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको उनले प्रष्ट्याए । ठाकुरले संविधान र लोकतन्त्र आएपनि आफ्ना नेता कार्यकर्ता आजपनि जेलभित्र भएकोले प्रस्तावको पक्ष÷विपक्ष उभिने स्थिति नभएको बताए । ‘हाम्रो सांसद रेशम चौधरीलाई हामी यो बैठकमा हेर्न चाहान्थ्यौं तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा धेरै साथीहरु तारेखमा हुनुहुन्छ किनकी यही संविधानको कारणले’, ठाकुरले भने ।

उनले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको भन्दै संविधानमा व्यापक सुधार गर्नुपर्ने बताए । ‘यो संविधानमा गम्भीर त्रुटीहरु छन् । हामी संविधान संशोधनको माग फेरि राख्छौं’, ठाकुरले भने ।

प्रतिक्रिया दिनुहोस्