Logo
Logo

लोकतन्त्रको भविष्य सुरक्षित गर्न ओलीलाई विश्वासको मत नदिएको माधव नेपालको प्रष्टोक्ति


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिनु देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको बताएका छन् । सोमबार साँझ विज्ञप्ति जारी गर्दै नेपालले देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न विश्वासको मत नदिएको प्रष्टीकरण दिएका हुन् ।

ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालले लुम्बिनी र गण्डकीमा एमालेका मुख्यमन्त्रीले लोकतन्त्र र संविधान विपरित कार्य गरेको आरोप समेत लगाएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले पार्टी विभाजनको आपराधिक बाटो अँगालेको पनि बताएका छन् ।

उनले भनेका छन्, “२०७७ साल फागुन २८ गते आफ्ना गुटका केही सदस्यहरूको भेला गर्नुभयो । त्यो गुटको भेलालाई बैठक भन्दै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरी स्वेच्छाचारी किसिमले कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनको घोषणा गर्नुभयो । त्यसमा मनोमानी किसिमले आफ्ना पिछलग्गुहरुको मनोनयन गर्नुभयो । हामी लगायतका केन्द्रीय कमिटीका सदस्यहरुलाई जिम्मेवारीबाट हटाउनु भयो । यसरी केपी ओलीले पार्टी विभाजनको अपराधपूर्ण बाटो समात्नुभयो ।”

प्रतिक्रिया दिनुहोस्