Logo
Logo
टाइमलाइनमा विश्वासको मत

प्रधानमन्त्री पदमुक्तदेखि नयाँ सरकार गठन आह्वानसम्म


दृष्टि संवाददाता


सोमबार बिहानैदेखि विभिन्न राजनीतिक घटनाक्रम भए । सोमबार बिहानसम्म प्रधानमन्त्री रहेका केपी शर्मा अ‍ोली साँझ हुँदासम्म कामचलाउ बन्न पुगे । यि बाहेक के भए त सोमबार दिनभर ?

हेरौँ टाइमलाइनमा :

बिहान ९ बजे – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल समूहले दिएको समयसीमा सकियो । आइतबार सिंहदरबारमा बसेकोे नेपाल समूहको बैठकले ओलीलाई वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएका थिए ।

बिहान ९ः ३० बजे – अध्यक्ष ओलीलाई दिएको समयसीमा सकिएपछि नेपाल समूहको सिंहदरबारमा आन्तरिक छलफलमा जुटे ।

बिहान १०ः ५० बजे – प्रतिनिधिसभाको सोमबारको बैठकमा अनुपस्थित हुने माधव नेपाल समहूले निर्णय गर्यो । केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा सोमबारको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएपछि अनुपस्थित रहने निर्णयमा पुगे ।

बिहान १०ः५५ बजे – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिन लागेको जनाउँदै ट्वीट गरे । ट्वीटमा माधवकुमार नेपाल पक्षलाई समस्या भए सँगै बसेर छलफलबाट समाधान गर्न आग्रह गरे । आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने ओलीले बताए ।

बिहान ११ः०० बजे – नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा ह्वीप उल्लङ्घन क्षम्य नहुने बताए । ह्वीप उल्लङ्घन गर्नेलाई पार्टी केन्द्रीय कमिटीले कारबाही गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले अनुपस्थित हुने निर्णय गरेपछि प्रमुख सचेतक भट्टराईको उक्त प्रतिक्रिया आएको थियो ।

बिहान ११ः०० बजे – नेकपा माओवादी केन्द्रद्वारा प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गर्यो । प्रतिनिधिसभामा प्रस्तुत हुने प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सरकारलाई कोभिड संक्रमणबाट सर्वसाधारणको जीवनरक्षाका लागि तत्काल आवश्यक स्वास्थ्य प्रबन्ध मिलाउन माग गर्ने निर्णय गर्यो ।

अपराह्न १२ः १५ बजे – सांसद पदबाट राजीनामा नदिने पक्षमा उभिएका एमालेको माधव नेपाल समूहका तीन प्रभावशाली नेता संस्थापन पक्षसँग संवादमा जुटे । विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बस्न लागेका बेला। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अर्थमन्त्री विष्णु पौडेलसँग घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टको वार्ता गरे ।

अपराह्न १२ः३० बजे – प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू हुनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा छलफल भयो । कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड र माओवादी नेता वर्षमान पुन समेत सहभागी थिए ।

अपराह्न १२ः४० बजे – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम सुरु भयो । सांसदलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइँदै । पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिइयो ।

अपराह्न १२ः ४३ बजे – जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले माधव नेपाल समूहको निर्णय बेठीकको समर्थन गरेजस्तै भएको बताए । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन लागेको बैठकमा सहभागी नहुने निर्णय गरेपछि भट्टराईले कायरता प्रस्तुत गरेको आरोप लगाए ।

अपराह्न १ः०० बजे – सांसद पदबाट राजीनामा नदिने पक्षमा उभिएका एमालेको माधव नेपाल समूहका तीन प्रभावशाली नेता संस्थापन पक्षबीचको छलफल सकियो, नेपाल समूहको निर्णयमै अडिग रहने भनाइ, पार्टी विभाजनबाट जोगाउन अन्तिमसम्म प्रयास गरिने ।

अपराह्न १ः१५ बजे – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रतिनिधिसभाको अधिवेशन १५ मिनेटका लागि स्थगित गरियो । सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका हुन् ।

अपराह्न १ः२३ बजे – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका हुन् । बैठक बोलाएपनि विश्वासको मत नपाउने भएसँगै कामचलाउ सरकारको रूपमा ओलीले बैठकको अध्यक्षता गर्नेछन् भने कुनै ठूलो निर्णय गर्न पाउने छैनन् ।

अपराह्न १ः ४२ बजे – प्रतिनिधिसभाको दोस्रो बैठक सुरु । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि संसदलाई सम्बोधन गर्दै प्रस्ताव प्रस्तुत गरे ।

अपराह्न २ः३० बजे – प्रधानमन्त्रीको प्रस्तावमाथि विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने कारण सुनाए ।

अपराह्न ३ः०० बजे – प्रधानमन्त्रीको प्रस्तावमाथि विपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाखलले विश्वासको मत दिन नसक्ने कारण सुनाए ।

अपराह्न ३ः३० बजे – जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्ष÷विपक्ष कुनैमा पनि मतदान नदिने घोषणा गरे ।

अपराह्न ४ः०० बजे – जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कारण सुनाए ।

अपराह्न ४ः३० बजे – संसदमा रहेका राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदले ओलीलाई मत नदिने कारण सुनाए ।

अपराह्न ४ः४० बजे – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन नसक्ने भन्दै विपक्षी दलले सुनाएका कारणको जवाफ दिए ।

साँझ ५:०० बजे – प्रधानमन्त्रीले पेश गरेको विश्वासको प्रस्तावमाथि मतदान प्रक्रिया सुरु भयो ।

साँझ ५ः४० बजे – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाएनन् । मत नपाएसँगै ओली नेतृत्वको सरकार कामचलाउ बन्न पुग्यो । ओलीको पक्षमा ९३, विपक्षमा १२४, तटस्थमा १५ र ३४ सांसद अनुपस्थित थिए ।

साँझ ६:३० बजे – नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपाद्वारा राष्ट्रपति विद्यादेवी भण्डरीलाई आग्रह गरे । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरे ।

साँझ ६ः५५ बजे – विश्वासको मत गुमाएसँगै कामचलाउ बनेको सरकारद्वारा सोमबार रातिबाट लागु हुने गरी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस ।

साँझ ७ः०० बजे – सभामुख अग्नि सापकोटाले राष्ट्रपतिलाई पठाए संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकेको पत्र । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले संसद् सचिवालयबाट पत्र प्राप्त हुनसाथ प्रक्रिया प्रारम्भ हुने बताए ।

राति ८ः०० बजे – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्नुको कारणसहित माधव नेपालले वक्तव्य जारी गरे । वक्तव्यमा ओली गरेका दुष्कर्मका कारण नै मत दिन संसद जान नसकिएको नेपालले तर्क गरेका छन् ।

राति ९:१० बजे – राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नयाँ सरकार गठनको प्रक्रिया प्रारम्झ, संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी ।

प्रतिक्रिया दिनुहोस्