Logo
Logo

ड्युटीका प्रहरी निराश


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै दोस्रो लहरको कोभिड संक्रमण व्यवस्थापनमा खटिएका कर्मचारीलाई अतिरिक्त भत्ताको व्यवस्था गरिने कुरा बताए पनि त्यो विषय लागु हुन सकेको छैन ।

विशेषतः सडकमा कोभिडको जोखिम मोल्दै ड्युटीमा खटिएका सुरक्षाकर्मीहरुको हकमा कुनै किसिमको अतिरिक्त भत्ता वा सुविधा दिइएको छैन । नेपाल प्रहरीका एक उच्च अधिकृतले बताएअनुसार, प्रधानमन्त्रीले घोषणा गरेपछि प्रहरी प्रधान कार्यालयले पटक–पटक गृह र अर्थ मन्त्रालयमा घोषणाबमोजिमका विषयको ताकेता ग¥यो, तर केही पनि पाएन । अहिले सडक व्यवस्थापनमा खटिएका ट्राफिकसहितका नेपाल प्रहरी र सशस्त्रका कर्मचारीले ड्युटी अवधीमा पानीसम्म पिउने सुविधा पाएका छैनन् ।

सशस्त्र प्रहरीले भने प्रति प्रहरी ड्युटी अवधी कम गरेर खाजा र आराम गर्ने समय दिने गरेको सशस्त्र मुख्यालयका एक अधिकृत बताउँछन् । तर, सरकारले दिने भनेको अतिरिक्त भत्ता वा सुविधा नआएको गुनासो उनले पनि गरेका छन् ।

प्रहरी र सशस्त्रको तुलनामा सेनाको परिचालन केही व्यवस्थित रहेको पाइन्छ । सेनाले मृतकहरुको शव व्यवस्थापनको जिम्मेवारी पाएको छ । गत वर्षको लकडाउनको समयमा जस्तो सेनाले बाहिरी सुरक्षा र कोभिड व्यवस्थापनका अन्य जिम्मेवारी यसपटक पाएको छैन । ‘काम थोरै हुनाले हामीलाई त्यति गाह्रो छैन’, एक सैनिक अधिकृत भन्छन् ।

कोभिड व्यवस्थापनको जिम्मेवारीका कारण सबभन्दा बढी मारमा सडक ड्युटीका प्रहरीहरु परेका छन् । सर्वसाधारणका बीचमा ड्युटी गरेपछि घरमा आउन जान पनि समस्या हुने, त्यसमाथि सरकारले दिने भनेको भत्ता, सुविधा पनि नपाउने स्थितिले उनीहरु निराश छन् ।

प्रतिक्रिया दिनुहोस्