Logo
Logo

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसक्ने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

गत मंगलबार विश्वासको मत नपाएसँगै ओली पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि राति ९ बजेसम्मको समय दिएका थिए । तीन दिनको समयसीमामा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले बहुमत प्रमाणित गर्न नसकेपछि अन्ततः ठूलो दलको रूपमा ओली नै प्रधानमन्त्री नियुक्त भएका हुन् ।

संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको हो । संविधान अनुसार दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

प्रधानमन्त्रीमा पुनः नियुक्त भएसँगै ओलीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, विश्वासको मत पुनः नपाएको खण्डमा सरकारले चुनाव गराउन पाउँछ ।

धारा ७६ (७) मा माथिका कुनै पनि विकल्पमा सरकार बन्न सकेन भने राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न हुने गरी मिति तोक्ने प्रावधान छ । नियुक्त भएसँगै प्रधानमन्त्री ओलीको सपथ भने शुक्रबार हुने भएको छ ।

प्रधानमन्त्रीको सपथ ग्रहण शुक्रबार हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्