नेपाल बंगलादेश बैंकद्वारा ५ हजार भायल रेम्डेसिभिर औषधि सरकारलाई सहयोग « Drishti News – Nepalese News Portal
Logo

नेपाल बंगलादेश बैंकद्वारा ५ हजार भायल रेम्डेसिभिर औषधि सरकारलाई सहयोग


दृष्टि संवाददाता


काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो विदेशी संस्थापक बंगलादेशका आइएफआइसी बैंकसँग मिलेर सरकारलाई ५ हजार भायल रेम्डेसिभिर औषधि सहयोग प्रदान गरेको छ । बैंकले नेपालमा बढ्दो कोभिड–१९ को संक्रमण र यसबाट हुन सक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त औषधि सरकारलाई प्रदान गरेको हो ।

बंगलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैंकको संस्थापक आइएफआइसी बैंकको सहयोगमा २८ वैशाखमा हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

यसका साथै बंगलादेश सरकारले पनि थप ५ हजार भायल रेम्डेसिभिर औषधि सहयोगस्वरूप प्रदान गरिएको र उक्त औषधि बंगलादेशबाट नेपाल आइसकेको बैंकले जनाएको छ । यसअघि पनि बैंकले आफ्नो विदेशी संस्थापक बंगलादेशको आइएफआइसी बैंक र त्यहीँको बेक्सिमको फर्मास्युटिकल कम्पनीसँग मिलेर ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जनाइएको छ ।

हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ एटिएममार्फत बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्