Logo
Logo

नकारात्मक सन्देशहरुले कमजोर बनाउँछ


नवीन राई


अधिकांश जिल्लामा निषेधाज्ञा छ । नेपालमा मात्र होइन, विश्वका धेरै देश ठप्प छन् । दुई सयभन्दा बढी देशमा फैलिएको कोरोना महामारीका कारण संसारका मानिस घरमै बन्धक छन् ।

कोरोना भाइरसका कारण विश्वमा दैनिक हजारौँले ज्यान गुमाइरहेका छन् । लाखौँ संक्रमित थपिरहेका छन् । केही देशले भ्यक्सिन बनाए । तर, ती भ्याक्सिन प्राण धान्ने औषधि भइसकेका छैनन् । कोरोनाको उपचार भनेकै सजग र सुरक्षित तरिकाले घरमै बस्ने हो । त्यसैले त आज विश्वका अधिकांश मुलुकले ‘लकडाउन’ अपनाएका छन् ।

नेपालमा दोस्रो लहरको कोरोनाभाइरस फैलन थालेपछि वैशाख १६ गतेबाट काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा छ । निषेधाज्ञासँगै फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको प्रयोग ह्वात्तै बढ्यो ।

इन्टरनेट सेवा प्रदायक संघ, नेपाल(आईस्पान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार निषेधाज्ञापछि नेपालमा इन्टरनेटको खपत ३० प्रतिशतले बढेको छ । उनका अनुसार दिउँसो पनि अन्य दिनको ‘पीकआवर’जस्तै ब्यान्डवीथ खपत भइरहेको छ । निषेधाज्ञा अघि ‘पीकआवर’भन्दा अन्य समयमा औसतमा ६ सय जीबीपीएससम्म ब्यान्डवीथ खपत हुन्थ्यो । अहिले दिउँसो नै ९ सय जीबीपीएससम्म खपत हुने गरेको छ ।

‘पीकआवर’मै भने एक टीबीपीएससम्म इन्टरनेट खपत भइरहेको पराजुली बताउँछन् । सामान्यतः साँझ सात बजेदेखि राती दश बजेसम्मको समयलाई नेपालको इन्टरनेट प्रयोगका हिसाबले ‘पीकआवर’ मानिन्छ । यसले इन्टरनेटको व्यापक प्रयोग भइरहेको छ भन्ने पुष्टि हुन्छ ।

गत वर्ष लकडाउन हुँदा फेसबुकमा साथीभाइका पुराना तस्बिर खोजी–खोजी लाइक र कमेन्ट गर्नेको लहरै चलेको थियो । यो वर्षको निषेधाज्ञा पनि त्यो दोहोरिएको छ । यतिबेला फेसबुकमा साथीभाइका पुराना तस्बिर खोजी–खोजी लाइक र कमेन्ट गर्न व्यस्त छन्,जाँगरिला युवा । एउटै कमेन्टलाई कपी पेस्ट गर्दैछन्, सामाजिक सञ्जालमा ।

महामारीको बेला भयभीत भएर मनोबल कमजोर बनाउने होइन । आत्मबल बलियो बनाउँदैै सम्भावित संकटको सामना गर्न तयार हुने हो । जसका लागि इन्फोडेमिकबाट बच्नुपर्छ ।

अर्कोतर्फ कोरोनाले मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली दिने र कोरोनासम्बन्धि समाचार सम्प्रेषण गर्ने माध्यम बनेको छ, सामाजिक सञ्जाल । कतिपय समाजमा पर्ने असरकाबारे ख्याल नै नगरी पोस्ट गर्ने गरिरहेका छन्, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ।

सामाजिक सञ्जाल सदुपयोगसँगै दुरुपयोग समेत हुने गरेको छ । कसैको मृत्यु भयो, शवको छेउमा उभिएर तस्बिर खिचेर पोष्ट गर्ने हतारोमा हुन्छन् कतिपयलाई । कोरोनाले मृत्यु भयो, सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनैपर्ने हतारो हुन्छ । यो मानवीय संवेदनाहीनताको पराकाष्ठा नै हो ।

कोभिड–१९ बारे सामाजिक सञ्जालमा आउने अनेक सूचना, तस्बिर, जानकारी अनि सञ्चारमाध्यममार्फत भ्रम फैलाउने कतिपय सामग्रीले संक्रमित र उनीहरूका आफन्तलाई आहत पारिरहेको हुन्छ । कोरोना सम्बन्धी नकारात्मक समाचारले अनावश्यक भय सिर्जना गरिरहेको पाइन्छ ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताको पोस्टहरुले समाजमा भय र त्रास निम्ताइरहेको हुन्छ । सामाजिक सञ्जालमा कोरोनाका कारण मृत्यु भएका मानिसलाई श्रद्धाञ्जली दिने र भयभीत पार्ने फोटो पोस्ट गर्नाले यो महामारीमा अझ मनोवल कमजोर निराश बनाइरहेको छ ।

कोरोनाबाट मृत्यु हुनेको समाचार पढेपछि ‘म पनि मर्ने हो कि’ भनेर सकंम्रमित आत्तिने गरेको महामारीमा हटलाइनबाट परामर्श दिइरहेका मनोचिकित्सक रितेश थापा बताउँछन् । उनी भन्छन्, ‘ठीक हुने बिरामीहरू पनि अरूको मृत्युको समाचार पढेपछि आत्तिएको पाउँछु । भारतमा जताततै बाहिरै शव जलिरहेको तस्बिर हेरेपछि धेरै बिरामीले आफू पनि नबाँच्ने हो कि जस्तो लाग्न थालेको अनुभव सुनाउँछन् ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहालले होम आइसोलेसनबाट भने– ‘अहिले पहिलाको जस्तो छिछि दूरदूर त छैन । तर, अलिक ध्यान नदिऊ, उसको नजिक नजाऔँ भन्छ । तर, मानसिक तनावचाहिँ हुने रहेछ । यस्ता सामाचारहरू सामाजिक सञ्जालमा नहाल्दै राम्रो ।’ खुशी बनाउने र सकारात्मक समाचार मात्रै आइदेओस् भन्ने लागेको उनी सुनाउँछन् ।

सामाजिक सञ्जालमा कोभिड–१९ सम्बन्धी भ्रामक समाचार पढ्दा मानसिक बिरामी बढ्दै गएको मनोचिकित्सक थापा बताउँछन् । घरमै केहीनगरी बस्दा कोभिड–१९ बारे सोच्ने, त्यसकै कुरा गर्ने हुनाले आत्तिने, छटपट्टिने र तनाव हुने समस्या बढिरहेको छ ।

मनोचिकित्सकहरूका अनुसार कोभिड–१९ को डर र त्रासले नयाँ मानसिक रोगका बिरामी थपिएका त छन् नै, पुराना मानसिक रोगीको व्यथा पनि बढेको छ । ‘सकारात्मक सोचले दिमाग मात्र होइन, शरीर पनि बलियो बनाउँछ, महामारीसँग भीड्न सक्छु भन्ने सकारात्मक विचार राख्ने गरे यस्ता समस्याबाट मुक्त भइन्छ,’ थापा भन्छन् ।

सामाजिक सञ्जाल सँगसँगै महामारीमा सञ्चारमाध्यम पनि थप जिम्मेवार हुनुपर्ने देखिन्छ । पाठक संख्या बढाउने नाममा कतिपय सञ्चारमाध्यमले मृत्यु र भयावह तस्विरहरू प्रकाशन÷प्रसारण गरिरहेको पाइन्छ । यसले बिरामीमा भय र त्रास सिर्जना गरिरहेको छ । त्यसैले नेपाल पत्रकार महासंघले ‘कोरोनाबारे समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरू’ सार्वजनिक गरेको छ ।

महासंघले भनेको छ, ‘कोरोनाभाइरस रोकथाम तथा उपचारका बारेमा सकारात्मक समाचारहरुलाई प्राथमिकता दिऔं । साना साना कदमहरुले मात्रै पनि हामी आफू र सबैलाई सुरक्षित राख्न सक्छौँ । सकारात्मक समाचारहरूले मानिसको मनोबल बढाउन सक्छ । नकारात्मक सन्देश तथा त्रास फैलाउन सक्ने सूचनाहरू सम्प्रेषण नगरौँ ।’

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गर्नुपर्ने प्रभावकारी रोकथामका उपायहरुका बारेमा सूचना सम्प्रेषणका साथै सीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा लेख÷समाचार प्रकाशन प्रसारण गर्न महासंको अनुरोध छ ।

महासंघले भनेको छ, ‘त्रास होइन, तथ्यले मात्र संक्रमण रोक्न सहयोग पुग्छ । त्यसैले संक्रमणका बारेमा सत्य तथ्य समाचार मात्र प्रकाशन, प्रसारण गरौँ र भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गरौँ । शब्द प्रयोगमा ध्यान दिऔँ । हामीले समाचार दिने तरिकाले अरुको व्यवहारलाई प्रभाव पारिरहेको हुनसक्छ ।’

तनाव कसरी कम गर्ने ?

निषेधाज्ञाले धेरैलाई दिक्दार बनाइसकेको छ । घर वा क्वारेन्टिानमा बसेर दिनभरि सामाजिक सञ्जालमा कोरोनासम्बन्धी कुराहरू पढ्ने, अफवाह फैलाउने खालका झुटो समाचार बढी पढ्ने बानीले पनि मानिसलाई तनाव दिइरहेको छ ।

अनावश्यक डर÷त्रास, नकारात्मक सोचले डिप्रेसन र एन्जाइटीका बिरामीलाई झन् एक्लो र उदास बनाएको मनोचिकित्सक बताउँछन् । गतवर्षको महामारीको समयमा क्वारेन्टिान बस्दा मानसिक समस्या बढेकै कारण आत्महत्याको घटना बढेको थियो ।

यस्ता समस्याबाट केही छुटकारा पाउनका लागि सबैभन्दा पहिले सामाजिक सञ्जालबाट टाढा रहनु पर्दछ । सामाजिक सञ्जालमा धेरै समय विताउनु हुँदैन । कोभिड–१९ सम्बन्धी समाचारबारे आधिकारिक मिडियाको मात्र भर पर्नुपर्छ ।

मनपर्ने काम र शौखले व्यक्तिलाई तनावबाट मुक्त राख्न सहयोग गर्छ । घरमै बसेर पेन्टिङ गर्ने, किताब पढ्ने वा आफूलाई मनपर्ने फिल्म हेर्ने, रचनात्मक काम गर्ने, गीत, कविता गजल सुन्ने/लेख्ने ।

घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि तनाव कम हुन्छ । प्लास्टिक वा कपडाका रंगीचंगी फूल बनाउने, घर कोठा सफाचट् पार्ने, पूराना कापी किताबको अध्ययन गर्ने, घरकोठा तथा बगैँचाको सरसफाइ गर्ने, ताजा तरकारीको लागि कौशीखेती गर्नाले पनि तनाव घटाउन मद्धत गर्छ ।
तनाव कम गर्ने अर्काे उपाय हो, शारीरिक व्यायाम । कोठमा बस्दा–बस्दै वाक्क लागे घरको छतमा गएर व्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने । नियमित ध्यानले अति तनावग्रस्त परिस्थितिमा पनि शान्त र सकारात्मक रहन सक्ने सार्माथ्य र धैर्यताको विकास हुन्छ ।

प्रतिक्रिया दिनुहोस्