Logo
Logo
ब्लग

कोरोनाबारे प्रधानमन्त्रीको ‘जोक संगालो’


नवीन राई


कोरोना महामारीले गत वर्षदेखि नै नेपाल आक्रान्त छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरले भयावह रूप लिइसक्यो । कोरोनाविरुद्ध सरकारले गतसाल ‘लकडाउन’ गर्यो । यो साल ‘निषेधाज्ञा’ जारी छ ।

कोरोनाले दुनियाँ त्राहित्राहि हुँदा जोक गर्दै बसेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बल्ल डर लाग्न थालेको छ । केही दिन अगाडि बालुवाटारमा प्रधानमन्त्रीका लागि बनाइएको ‘कोरोना–फ्री बक्स’ सार्वजनिक भएको थियो । आइतबारको सीसीएमसी बैठकमा ‘नेपालीको इम्युनिटी पावर राम्रो भएकाले केही हुन्न भन्ने लागेको थियो । तर त्यस्तो होइन रहेछ’ भन्दै प्रधानमन्त्रीले मजाक गरे ! होला, प्रधानमन्त्रीले चिन्ता नै व्यक्त गरेका हुन् । तर, उनको विगतले प्रधानमन्त्रीको चिन्ता पनि मजाक झै लाँग्छ ।

गत साल लकडाउन गरेपछि प्रधानमन्त्री ओली वैद्यदेखि डाक्टरसम्मको भूमिकामा प्रस्तु भए । लकडाउनदेखि निषेधाज्ञासम्म आइपुग्दा एकपटक होइन, पटकपटक प्रधानमन्त्री ओलीले फगत विज्ञता प्रस्तुत गरिरहे ।

कोरोना महामारीको बेला जति पटक जनतामाझ प्रस्तुत भए, त्यति नै पटक फरक–फरक घरेलु टिप्स लिएरै आए । नेपालीको इम्युनिटी पावर बढी भएकाले हत्तपत्त रोगले नछुने प्रधानमन्त्रीकै उक्ति थियो ।

कोभिड महामारीले संसार थला परेको बेला प्रधानमन्त्री ओलीले ‘खाकखुक खोकेर थुकेपछि कोरोना–सोरोना भाग्ने’ दाबी गरे । कोभिड महामारी आएपछि प्रधानमन्त्रीले विज्ञका विचार सुन्ने र रोकथामको उपाय अवलम्बन गर्नेभन्दा पनि विज्ञहरूलाई नै पढाएर मजाक गरे ।

कोरोनाबारे प्रधानमन्त्रीका मजाकहरू

‘तातो पानीले भाइरस समाप्त हुन्छ’

प्रधानमन्त्री ओलीले कोरोनामा ‘फ्याटीय’ तत्व हुने भएकाले तातोपानीले हात धोएमा जाने ठोकुवा गरे । गत वर्ष २९ चैतमा मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्रीले भनेका थिए– ‘भाइरस निर्जीव तत्व हो । त्यसमा बोसीय, बोसोजस्तो फ्याटीय तत्वले भाइरसलाई एउटा जीवित तत्वका रूपमा सक्रिय गराइदिन्छ । यसकारणले तातोपानीले हात धोएमा त्यसलाई मार्छ  । हात धुँदा, सकिन्छ भने तातोपानीले धुने  । मुख धुँदा अलिकति तातोपानी, मनतातो पानीले धुने । यो ठूलो विधि हो । जहाँ भाइरस छ भने पनि तातोपानीले हात धुनेबित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि समाप्त हुन्छ ।’

‘कोरोना–सोरोनाले नेपालीलाई केही असर गर्दैन’

प्रधानमन्त्री ओलीले नेपालीलाई कोरोनाले केही असर नगर्ने भन्न बाँकी राखेनन् । ६ जेठमा राष्ट्रिय सभाको बैठकमा ओलीले भने– ‘कोरोना–सोरोनाले नेपालीलाई केही असर गर्दैन । किनकि, नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ  । नेपालीको भान्सामा मानिस निरोगी हुने तत्व हुन्छन् । भान्सामा हुने बेसार, लसुन, प्याजदेखि टिम्बुर, अदुवासम्मका चिजबिजले नेपालीलाई निरोगी राख्छ ।’

‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ’

गत साल जेठ २८ गते प्रधानमन्त्री ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको दावी गरे । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले ‘नेपालीको प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो ?’ भन्ने प्रश्न गरेपछि जवाफमा ओलीले स्वतःसिद्ध प्रमाणित भएको विषय भएको बताए ।

‘एकजना माननीय सदस्यले नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो ? भनेर सोध्नुभयो, भर्खरै सुन्नुभयो नि ! मैले भनेको, मैले भनेको हो । नेपालीको प्रतिरोधी क्षमता राम्रो छ भन्ने कुराको चुनौती कुनै डाक्टर, वैज्ञानिक, शोधकर्ताबाट आयो भने मैले स्वीकारौंला ।’

‘कोरोनाभाइरस रुघाखोकीजस्तो’

गत असार ४ गते राष्ट्रिय सभा बैठकमा बोल्दै ओलीले कोरोना रुघाखोकीजस्तो मात्रै भएको टिप्पणी गरे । उनले भने, ‘अब कोरोनाले छोयो भन्नेबित्तिकै अब मर्छु म, अब गएँ म भन्न थाल्यो भने त बाँच्न गाह्रो पर्छ । कोरोना भनेको एउटा रुघाखोकी जस्तो मात्रै हो । लागिहाले हाँछ्युसाँछ्यु गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ । त्यो हिसाबले सोच्नुपर्छ, उच्च मनोबल राख्नुपर्छ । कोरोनाले लान सक्दैन ।’

बेसारविज्ञ !

गत असारमै बेसार विज्ञका रुपमा प्रधानमन्त्री ओलीले ख्याति कमाए । प्रतिनिधि सभा बैठकमा ओलीले भने, ‘बेसार पानी खाएर कोरोना निको पार्नु पर्छ, बेसार पनि कुनै-कुनै अवस्थामा भने खान हुँदैन । जन्डिस लागेको छ भने रक्तअल्पत्ता भएको छ भने बेसार खानु हुँदैन ।’

बेसार–पानी आन्दोलनका क्रममा नारासमेत बने । पीसीआरको माग गर्दै ‘नो पीसीआर, कोरोनाको उपचार नुनबेसार– डा. केपी ओली’ लेखिएका प्लेकार्डहरु बन्यो ।

‘नाकमा आयो भने सिनित्तै फ्यालिदिनुपर्छ’

प्रधानमन्त्री ओलीले ‘कोरोना भाइरस नाकमा आयो भने सिनित्तै फ्यालिदिनुपर्छ, केही गरी घाँटीमा पुगिहाल्यो भने खाकखुक गर्नुपर्छ, खोकेर फाल्नुपर्छ’ समेत भन्न भ्याए ।

प्रधानमन्त्री गैरजिम्मेवार नभइ इमानदापूर्वक कोरोना नियन्त्रणमा जुटेको भए पक्कै आजको भयावह अवस्था आउने थिए । काम गर्ने बेलामा मजाक गरेर बसेका प्रधानन्त्रीलाई बल्ल ‘कोरोना केही रहेछ है’ भन्ने महसुस भएको हुनसक्छ । अब त केही हुन्छ कि ?

प्रतिक्रिया दिनुहोस्