Logo
Logo

मुख्यसचिव प्रधानमन्त्री ओलीका कारिन्दा


दृष्टि संवाददाता

206.3k
Shares


काठमाडौं । राजदूत नियुक्ति प्रकरणले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र मन्त्रालयका कर्मचारीबीचको सम्बन्ध चिसिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीको असक्षमताले परराष्ट्रका कर्मचारीको भविष्य नै अन्धकार बनेको चर्चा मन्त्रालयमा छ ।

राजदूत नियुक्ति गर्दा परराष्टका कर्मचारीमाथि झन्–झन् अन्याय हुन थालेको छ । गत साता ११ देशमा राजदूत नियुक्तिको सिफारिस गर्दा परराष्ट्रका दुई सहसचिव मात्र त्यसमा पर्न सफल भए, त्यो पनि खासै जिम्मेवारी नै नभएका ‘लो प्रोफाइल’का दूतावासमा । सहसचिव निर्मलराज काफ्लेलाई अष्ट्रिया तथा जीवनप्रकाश श्रेष्ठलाई इजिप्टको राजदूतमा सिफारिस गरिएको छ । जबकि, कूटनीतिको कुनै ज्ञान नै नभएका व्यक्तिहरुलाई अष्ट्रेलिया, दक्षिण कोरिया, डेनमार्क जस्ता देशमा जिम्मेवारी दिइएको छ ।

विगतमा राजदूत नियुक्ति गर्दा रिक्तमध्ये परराष्ट्र मन्त्रालयबाट ५० प्रतिशत कर्मचारी पर्दथे । करिअर डिप्लोम्याट राजदूत हुँदा दूतावास निकै बलियो हुने गरेको छ । तर, बाहिरी व्यक्तिलाई राजदूत नियुक्त गर्न थालेपछि दूतावास अनेक धन्दाका अखडा बन्दै आएका छन् । यसपटक त ११ मध्ये परराष्ट्रका दुई सहसचिवालाई मात्र राजदूत सूचीमा समेटियो ।

यसरी बाहिरबाट धेरै राजदूत नियुक्त हुँदा परराष्ट्र सेवाका कर्मचारीलाई यसको दुई किमिसको असर हुन्छ । पहिलो वर्षाैसम्म परराष्ट्र सेवामा काम गरेर उच्च पदमा पुग्दा पनि राजदून नबनी अवकाश पाउनुपर्ने हुनसक्छ । दोस्रो भनेको परराष्ट्र सेवामा वृत्ति विकास समयमा हुँदैन । अहिले भएको नियुक्तिमा कम्तीमा ६ जना परराष्ट्र सेवाका कर्मचारीलाई राजदूत नियुक्ति दिएको भए, अन्य कर्मचारीको बढुवाको बाटो खुल्थ्यो । अब चार वर्षका लागि बढुवा स्थगित भएको छ । पूर्व परराष्ट्रसचिव शंकर बैरागी मुख्यसचिव भएको बेला उनले कर्मचारीको पक्षमा अडान लिनुपथ्र्यो । यसमा उनी चुकेका छन् । पदले मुख्यसचिव भनिए पनि व्यवहारले उनी ओलीका कारिन्दा सावित भएका छन् ।

समयमा वृत्ति विकास नहुँदा पछिल्लो समय कर्मचारीमा नैराश्यता छाएको छ । वृत्ति विकास जाम भएपछि परराष्ट्रमा सहसचिव र उपसचिवको दरबन्दी थप्ने प्रयास भएपनि त्यो सफल हुन सकेको छैन । लोक सेवा आयोगले रिक्त पदमा विज्ञापन गरेर पनि दुई महिनाअघि रद्द गरेको थियो । अदालतमा मुद्दा पर्दा विज्ञापन रोकिएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीको कमजोर नेतृत्वले यसरी परराष्ट्र सेवा कमजोर बनेको एक कर्मचारी बताउँछन् । आफुले प्रयास गरेपनि प्रधानमन्त्रीका अगाडी केही नलागेको जवाफ उनले कर्मचारीलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्