Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नेपालमा भारतीय भेरियन्ट फैलिएकोदेखि अस्थायी अस्पताल बनाउन सर्वोच्चको आदेशसम्म


दृष्टि संवाददाता


१. नेपालमा नयाँ कोरोनाको भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी, भारतीय भेरियन्ट ९७ प्रतिशत संक्रामक रहेको पुष्टि, २४ घण्टामा देशभर ८ हजार १ सय ३६ कोरोना भाइरसका संक्रमित थपिए, ६ हजार ८ सय ९१ संक्रमित निको भए, कोरोनाबाट सक्रिय संक्रमित हुनेको संख्या १ लाख १४ हजार ५ सय २९ नाघ्यो, २४ घण्टामा १ सय ९६ कोरोना संक्रमितको मृत्यु, चिकित्सकको प्रेस्किप्सन बिना एन्टिबायोटिक र स्टेरोइड बिक्री गर्न नपाउने व्यवस्था लागू गर्न औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी परिषदलाई निर्देशन दिने मन्त्रालयको निर्णय ।

२. सर्वोच्च अदालतले अस्पताल र स्वास्थ्य संस्थाहरुमा बेडको अभाव भएमा अस्थायी अस्पतालको वैकल्पिक व्यवस्था गर्न सरकारका नाममा आदेश जारी, अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले खाली ठाँउ र भवनमा अस्थायी अस्पताल, उपचार केन्द्र बनाइ संक्रमितको उपचार गर्न निर्देशन, सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्न/नगराउन पनि सर्वोच्चको आदेश ।

३. सर्वोच्च अदालतद्वारा प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको निर्णयमाथि चुनौती दिई परेको निवेदनमाथि अन्तरिम आदेश दिन अस्विकार, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासद्वारा आदेश दिनुनपर्ने आदेश, निवेदनलाई भने अग्राधिकार दिन प्रधानन्याायधीशको आदेश ।

४. नेकपा (एमाले)को विवाद हल गर्न गठित कार्यदलले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान, सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको नेता भीम रावलद्वारा जानकारी, बैठकद्वारा आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय ।

५. जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको पत्र संघीय संसद् सचिवालयमा दर्ता, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीभित्रको विवाद समाधान गर्न ८ बुँदे सहमति भएको दिन मंगलबार महतो संसदीय दलको नेता चयन भएको जानकारी संसद् सचिवालयमा दर्ता, नेता चयन भएकोमा यादव समूहले भने आपत्ति जनाउँदै ग¥यो विरोध ।

६. जेठ ६ गते हुने वागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेद्वार बनेका नेकपा एमाले नेता एवं गृहमन्त्री रामबहादुर थापाद्वारा माधवकुमार नेपालसँग भेट, सहयोग गर्ने प्रतिबद्धता आएको थापाका प्रेस संयोजकको दावी, नेपालको सचिवालयले भने विज्ञप्तिको खण्डन गर्दै कुनै सहयोग नजनाएको अर्को वक्तव्य जारी ।

७. लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा प्रदेशसभाको विशेष अधिवेशनको समावेदनलाई अश्वीकार, संविधानको धारा १८३ (३) अनुसार अधिवेशन बोलाउन माग गरिएकोमा १८८ (४) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हाल अधिवेशन आव्हान गर्न मिल्ने अवस्था नदेखिएको यादवले उल्लेख, सरकार बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुखको निर्णय आएको कानूनविद्को भनाइ ।

८. नेप्से सूचक २८सय नजिक, मंगलबार कारोबार रकममा पनि नयाँ रेकर्ड, ३४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार, पहिलो थेगेको बैंकिङलाई दोस्रो लहर थेग्न गाह्रो, आर्थिक वृद्धि ४% नहुने राष्ट्र बैंकको प्रक्षेपण, एमसीसी परियोजना अघि बढ्दै, विद्युत प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन स्वीकृत, भारतीय अर्थतन्त्र कोभिडले शिथिल हुँदा विश्व व्यापारमा चीन चम्कियो, ’प्रोडक्ट पावर हाउस’ बन्दै ।

९. फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा, नेपाल ट्राइथोलनको संघले आफ्ना प्रशिक्षकहरुका लागि अनलाईन कोर्ष सुरु, फिजियोलोजी अफ ट्राइथोलन ट्रेनिङ– युथ एण्ड जुनियर नामक कोर्षमा सहभागीलाई संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रशिक्षण प्रदान गर्ने, विश्व ब्याटमिन्टन महासंघ बेष्ट अफ फाइबको नियम ल्याउने तयारीमा ।

१०.र, भारतमा दैनिक कोभिड–१९ संक्रमितको संख्या घट्दै, चक्रवातका कारण महाराष्ट्रमा ११ जनाको मृत्यु, ६ हजार ३ सय बढी गाउँ प्रभावित, ताऊ ते आँधीका कारण अरब सागरमा ४ पानीजहाजका ७ सयबढी मानिस फसे, २१५ को उद्धार, अमेरिकी राष्ट्रपति बाइडेनले डेढ लाख र उपराष्ट्रपति कमलाले तिरिन् सवा ६ लाख डलर कर, विभिन्न मुलुकलाई कोरोनाविरुद्धको ८ करोड डोज खोप दिने बाइडेनको घोषणा, खोपको बदलामा कुनै सहयोग नलिने प्रतिवद्धता ।

प्रतिक्रिया दिनुहोस्