काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको १० सदस्यीय कार्यदलको आजका लागि बोलाएको बैठक स्थगित भएको छ ।
आज बेलुकी ७ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठक भोलि बेलुकी ५ बजे बस्नेछ । कार्यव्यस्थताका कारण सबै सदस्य उपस्थित हुन नसक्ने भएकाले आजको बैठक सरेको उनले बताए ।
कार्यदलको बैठक मंगलबार पनि बसेको थियो । बैठकले कार्यदलको आचारसंहिता, कार्यक्षेत्र निर्धारण गर्नेलगायत निर्णय गरेको थियो ।
२०७५ जेठ २ गते आसपासमा पुग्ने गरी सहमति खोज्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ र नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा दुवै पक्षबाट पाँच–पाँचजना छन् ।
ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् ।
वरिष्ठ नेता माधव नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।












