Logo
Logo
राष्ट्रियसभा उपनिर्वाचन

बादललाई हराउँदै खिमलाल देवकोटा विजयी


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन् ।

देवकोटा कुल ५ हजार ८८ मतभारसहित विजयी भएका हुन् । एमालेको माधव नेपाल पक्षका मत नदिएपछि बादल पराजित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार ३४७ मतदातामध्ये प्रदेश सभाका ४ जना सदस्य मतदानमा अनुपस्थित भएका थिए भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका थिए ।

अनुपस्थित हुने प्रदेशसभा सदस्यमा विवेकशील साझा पार्टीका तीनजना र माओवादीका एकजना छन् । विवेकशील साझाले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम रमेश पौडेल, विराजभक्त श्रेष्ठ, शोभा शाक्य अनुपस्थित भए । त्यस्तै माओवादी केन्द्रकी सांसद हिमाली गोले पनि बिरामी परेका कारण अनुपस्थित भइन् ।

मतदानमा अनुपस्थित हुने स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका तीनजना, नेपाल मजदुर किसान पार्टीका एकजना र एमालेको माधव नेपाल पक्षका एकजना छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित र धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ मतदानमा अनुपस्थित भए ।

त्यस्तै दोलखाको मेलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी पनि बिरामी परेका कारण अनुपस्थित भएकी छन् । उनी एमालेको माधव नेपाल पक्षमा खुलेकी दोलखाको एकमात्र जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्