Logo
Logo

कपाल झर्नुको कारण र उपचार


डा. रेखा थापा


कपाल झर्नु वा उम्रनु प्राकृतिक प्रक्रिया हो । तर, सामान्यभन्दा बढी कपाल झर्नु र झरेपछि नउम्रनुचाहिँ समस्या हो । प्राकृतिक चक्रका कारण कपाल झर्ने र उम्रने प्रक्रिया चलिरहन्छ । कपालको चक्रमा तीन वटा चरणहरु हुन्छन्– एनाजन, क्याटाजन र टेलोजन । यी तीनवटा चक्र पूरा गरेपछि कपाल झर्छ र त्यहीँबाट नयाँ कपाल उम्रन्छ । यो निरन्तर चलिरहन्छ । तर, झरेपछि पनि नयाँ कपाल उम्रिएन र कपाल पातलो हुँदै गयो भने समस्या शुरु भएको मान्नुपर्छ ।

कारण के हुन सक्छन् ?

विभिन्न कारण कपाल झर्छ । मुख्य कारण वंशाणुगत गुणलाई मानिन्छ । यदि, अघिल्लो पुस्तामा कपाल झर्ने, पातलो हुने र तालु हुने थियो भने पछिल्लो पुस्तामा पनि यो गुण आउन सक्छ ।

हर्माेनको उतार–चढाव, तनाव, लामो समयसम्म एन्टिबायोटिकको प्रयोग, थाइराइड समस्या तथा कपालमा धेरै चाया पर्नाले पनि कपाल झर्ने गर्छ । त्यतिमात्र होइन, कपालको सजावटका लागि प्रयोग गरिने रसायनिक साधानहरुका कारण पनि कपाल झर्छ । कपालमा केमिकल, तातो आइरन, रड जस्ता सामग्री प्रयोग गर्दा कपालको बाहिरी तह क्युटिकल र दोस्रो तह कोर्टेक्समा भएका फाइब्रस प्रोटिनहरु नष्ट भइ कपाल सुख्खा हुने, टुक्रने र झर्ने समस्या हुन्छ ।

के नगर्ने ?

१. कपालमा अनावश्यक केमिकलयुक्त सामग्री प्रयोग गर्नु हुँदैन ।
२. चिसो कपाललाई धेरै कोर्ने र झड्का मार्ने गर्नु हुँदैन ।
३. चिसो कपाल सुकाउन टावेलले बेसरी रगड्नु हुँदैन ।
४. तातो आइरन र रडको प्रयोग गर्नु हुँदैन ।
५. धेरै तातो पानीको प्रयोगबाट गर्नु हुँदैन ।

के गर्ने ?

१. कपाल पखाल्दा ‘माइल्ड स्याम्पुु’ प्रयोग गर्नुपर्छ । स्याम्पु प्रयोग गर्नुभन्दा अगाडि सानो कचौरामा पानी राखी आवश्यक स्याम्पु हालेर घोल्ने र प्रयोग गर्ने ।
२. कपाल कोर्दा ठूलो दाँत भएको काइयो प्रयोग गर्नुपर्छ ।
३. समय समयमा स्काल्पमा तेलले मालिस र ‘स्पा’ गर्नुपर्छ । यसले कपालको जरा र कपाल दुवैलाई मजबुत बनाउँछ ।
४. कपाल कलर गर्दा होस् वा रिवोण्डीङ गर्दा आफूखुसी गर्नु हुँदैन । विशेषज्ञको सल्लाहअनुसार मात्र गर्नुपर्छ ।
६. आवश्यक भए ‘केराटिन ट्रिटमेन्ट’ गर्नुपर्छ । यसले कपालमा प्रोटिन बढाउँछ र कपाल स्वस्थ्य हुन्छ ।
७. स्वस्थ जीवनशैली अपनाउनुपर्छ ।

घरेलु उपचार के हुन सक्छ ?

वंशाणुगत गुणबाहेक प्रायः कपाल झर्ने समस्या अस्थाइ हुन्छ । उचित स्याहार गर्ने हो भने कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । प्रस्तुत घरेलु विधि अपनाएर कपाल झर्ने समस्या रोक्न सकिन्छ ।

एरोमा ओयल मसाजः

ओलिभ ओयलमा एरोमा ओयल जस्तैः लेभेन्डर ओयल, रोजभेरी कलेरीसेज, सेन्डलवुड टी–ट्री र पेपरमिन्टको केही थोपा मिसाइ कपाललाई मासिल गर्दा राम्रो हुन्छ । यीमध्ये एकमात्र पनि मिसाउन सकिन्छ वा दुई तीन प्रकारको मिसाउँदा पनि हुन्छ । यसरी मालिस गर्दा ‘स्कालप’मा रक्तसञ्चार बढाइ ‘फेलिकल’लाई मजबुत बनाउँछ । यसले कपाल झर्न कम गर्नुका साथै नयाँ उमार्न मद्दत गर्छ ।

नरिवल तेल र ऐलोभेरा प्याकः

कपाल झर्ने समस्या रोक्न नरिवलको तेल प्रभावकारी हुन्छ । यसले कपालबाट नष्ट भएको प्रोटिन रिपेयर गर्छ । जरैबाट कपाललाई मजबुत र स्वस्थ बनाइ झर्नबाट रोक्छ । साथै, नयाँ कपाल उमार्न सहयोग गर्छ ।
एलोभेरामा पर्याप्त मात्रामा भिटामिन हुन्छ । यसले कपाललाई जरैबाट मजबुत बनाउँछ । एलोभेरा काटेर २० मिनेट पानीमा डुबाउने । त्यसपछि जेल निकाली मिक्चरमा पिस्ने र नरिवलको तेलमा मिसाइ प्याक तयार पार्ने । उक्त प्याकलाई स्काल्पबाट कपालको टुप्पोसम्म लगाएर ‘टावल स्टिम’ दिने । एक घण्टापछि ‘माइल्ड स्याम्पु’ले पखाल्ने ।

नरिवल तेल र अण्डाको प्याकः

अण्डा र नरिवलको तेल मिसाइ तयार पारिने प्याकले कपाल झर्न रोक्नुका साथै नयाँ उमार्न मद्दत गर्छ । सामान्य कपाल भए अण्डाको सबै भाग प्रयोग गर्न सकिन्छ । सुख्खा भए अण्डाको पहेलो भाग, धेरै चिल्लो कपालका लागि सेतो भाग प्रयोग गर्नुपर्छ । अण्डामा पाइने भिटामिनहरु जस्तै ए, ओ, इले कपाल झर्न रोक्छ । कपाललाई नमी प्रदान गरी स्वस्थ बनाउँछ । आवश्यक मात्रामा अण्डा र नरिवलको तेल मिसाइ कपालमा लगाउने र टावल स्टिम दिने । एक घण्टापछि ‘माइल्ड स्याम्पु’ले पखाल्ने ।

प्रस्तुत घरेलु उपचार विधिले पक्कै परिणाम दिन्छ । यसरी उपचार गर्दा कसैको समस्या समाधान नहुन पनि सक्छ । यदि, कपाल झर्नेक्रम रोकिएन भने विज्ञको सल्लाहमा उपचार गर्नुपर्ने हुन्छ । पीआर पी ट्रिटमेन्ट, मिजो हेयर लेजर थेरापी जस्ता ननसर्जिकल ट्रिटमेन्ट गर्न सकिन्छ । यस्ता ट्रिटमेन्टहरु निक्कै प्रभावकारी हुन्छन् । तर, कपालको फोलिकल नै नष्ट भएको अवस्था हो भने ‘ट्रान्सप्लान्ट’ गर्नुपर्ने हुन्छ ।

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्