Logo
Logo
टाइमलाइनमा प्रधानमन्त्री दावी

देउवालाई माधवको साथ, ओलीलाई आफ्नैबाट घात


दृष्टि संवाददाता


राष्ट्रपतिबाट बिहीबार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गर्न संसदका सदस्यलाई आह्वान भयो । त्यसपछि शुक्रबार बिहानै देखि विपक्षी गठबन्धन प्रधानमन्त्रीमा दावी गर्न छलफलमा जुटे । राष्ट्रपतिबाट दिइएको समयसीमामा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दावी प्रस्तुत भयो । दावी पेश हुनु पूर्व के भए त दिनभर ?

हेरौँ टाइमलाइनमा :

बिहान ९: ०० बजे – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्यो, बैठकले राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको लागि दावी पेश गर्न गरेको आह्वानका सन्दर्भमा छलफल ग¥यो ।

बिहान ११: ०० बजे – प्रधानमन्त्रीको अनुरोधमा राष्ट्रपतिले संविधानविपरीत नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै सर्वोच्च अदालतमा १२ वटा रिट पेस भए । संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु गरेको भन्दै सर्वोच्चमा रिट पेस भए ।

बिहान ११: २० बजे – कांग्रेस पदाधिकारी बैठक सकियो, पदाधिकारी बैठकमा महाअभियोगबारे छलफल भएको र कांग्रेस त्यसका लागि तयार रहेको बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

बिहान ११:३० बजे – राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र केपी ओलीलाई सत्ताच्यूत गर्नेबारे सबै विकल्प प्रयोग गर्ने तयारीमा रहेको नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल थाल्यो, कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षी नेताहरू बैठकमा बसे । बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव समेत सहभागी भए ।

मध्याह्न १२: ०० बजे – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सुरु भयो । राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न सांसदहरूलाई आह्वान गरेपछि ठाकुर पक्ष सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटे । बैठक संसदीय दलका नेता महतोको अध्यक्षतामा बसेकोबारे उपेन्द्र यादव–बाबुराम भट्टराईं पक्षले भने बैठकबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए ।

मध्याह्न १२: ३० बजे – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कार्य गरेको भन्दै शीतल निवासअगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्रदर्शन गरे , संसदबाट कानुन बनाउने प्रावधान हुँदाहुँदै राष्ट्रपतिले सोझै अध्यादेश जारी गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी नेता पक्राउ परे ।

अपराह्न १२: ४५ बजे – प्रधानमन्त्रीले आकस्मिक पत्रकार सम्मेलको आयोजना गरे । सबै सम्पादकको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि बाध्यात्मक परिस्थिति आएकाले राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्रीको दावी पेश गर्न आह्वान गरेको बताए । उनले पार्टीभित्र उत्पन्न गरिएको समस्या बारे पनि भडास पोखे ।

अपराह्न १: ०० बजे – राष्ट्रपतिले छोटो समय राखेर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जुटेका विपक्षीहरूको छलफल सकियो, बुढानिलकण्ठको बैठकपछि विपक्षीहरु आ–आफ्नो दलमा आन्तरिक छलफलमा जुटेर तीन बजे बैठक पुनः बस्ने निर्णय गरे ।

अपराह्न १: ३० बजे – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भयो । जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको जानकारी दिइयो ।

अपराह्न १: ३० बजे – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको बैठक सिंहदरबारमा बस्यो, संसद् सचिवालयलको सार्वजनिक लेखा समितिको हलमा बैठक जारी रहेको सांसद झपट रावलले बताए । बैठकमा माधव नेपाल, भीम रावल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विरोध खतिवडालगायत २० भन्दा बढी सांसदको उपस्थिति रहेको बताए ।

अपराह्न ३ः०० बजे – कांग्रेस संसदीय दलको बैठक कक्षमा माओवादी, कांग्रेस र माधवकुमार नेपाल समूहको बैठक सुरु भयो ।

अपराह्न ३:१५ बजे – १५ मिनेट बसेर विपक्षी गठबन्धनको बैठक सकियो । १ सय ४९ सांसद आफूसँग रहेको दावी गर्दै गठबन्धन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी पेश गर्ने निर्णय, राष्ट्रपति भवन शीतल निवास जाने निर्णय गरे ।

अपराह्न ३: २५ बजे – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरे । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरे ।

अपराह्न ३: ३५ बजे – शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने दावी गर्दै विपक्षी गठबन्धनले राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन गर्न दावी प्रस्तुत गरे ।

अपराह्न ३: ४५बजे – नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु भयो । अर्थ समितिको हलमा बैठक बस्यो । गएको २ जेठमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका पाँच÷पाँच नेता सम्मिलित कार्यदल गठन भएको थियो । पार्टीलाई एकताबद्ध बनाउने प्रस्ताव ल्याउने कार्यदल गठन भएको थियो ।

अपराह्न ४:५० बजे – शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने दावी गर्दै विपक्षी गठबन्धनले राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन गर्न दावी प्रस्तुत गरेर बाहिरिए ।

साँझ ५:०० बजे – संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा सकियो, प्रधानमन्त्रीमा दुई जनाको दावी परेको भन्दै कानूनी परामर्श गरेर निर्णय लिने राष्ट्रपतिद्वारा जानकारी ।

यसपछिका समयमा राष्ट्रपतिद्वारा कानूनी परामर्श निरन्तर

प्रतिक्रिया दिनुहोस्