Logo
Logo

द्रव्यलाभ सहकारीद्वारा साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री सहयोग


दृष्टि संवाददाता


काठमाडौँ । नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्र बनिरहेका बेला काठमाडौँ महाबौद्धस्थित द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकालाई शुक्रबार रु तीन लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । त्यसमध्ये संस्थाको तर्फबाट रु एक लाख र अन्य रकम सञ्चालक समिति तथा अन्य समितिका सदस्यहरुबाट सहयोगस्वरुप प्राप्त रकमबाट उक्त सामग्री प्रदान गरिएको हो ।

कोरोना सङ्क्रमण तीव्ररूपमा विस्तार भइरहेका बेला सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सेवाभावले गाउँपालिकाका वडा नं २ वडा सदस्य राजन राउतलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भक्त पराजुलीले जानकारी दिए ।

विपन्न थामी तथा गुरुङहरुको बसोबास रहेको विशेष गरी त्रिपुरा सुन्दरी गाउँपालिका–२ का र अन्य वडाका स्थानीयवासीको उपचारका लागि सहजता होस् भन्ने उद्देश्यले सहकारी संस्थाले दुई हजार थान मास्क, पाँच थान पिपिइ सेट, साढे सात लिटर ह्याण्ड स्यानिटाइजर, साढे सात लिटर ह्याण्डवास, १० थान बेड, १० थान म्याट्रेस, तकिया, तन्ना, सिरक १०–१० थान, एन्टिजेन कीट १५० थान, अक्सोमिटर ५ थान गरी साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेको अध्यक्ष पराजुलीले दृष्टि न्यूजलाई बताए ।

महामारीका बेला स्वास्थ्य सामग्री उपलव्ध गराएकामा वडासदस्य राउतले सहकारीलाई तथा यसका सञ्चालकहरुलाई धन्यवाद दिएका छन् । आगामी दिनमा पनि पालिकाले द्रव्यलाभ सहकारीको साथ र सहयोगको अपेक्षा गरेको वडासदस्य राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्