Logo
Logo

चिताले भन्ने थियो ‘त्यो पर्दैन’


नवीन राई


कोरोना महामारीले देश आक्रान्त छ । देशका कुनै अस्पतालमा बेड खाली छैनन् । सबै अस्पताल संक्रमितले भरिभराउ छ । संक्रमित अस्पतालको बरण्डामा छटपाइरहेका छन् । आफन्तको रुवाबासी छ । अस्पताल चर्हादाचर्हाँदै संक्रमितको मृत्यु भइरहेको छ ।

अस्पतालमा अक्सिजनको हाहाकार छ । अस्पतालले संक्रमितलाई भर्ना लिन छाडिसक्यो । बिरामीलाई अस्पतालबाट निकालिन थाले । निजी अस्पतालहरूले हात उठाइसके । अस्पतालहरूले धमाधम सूचना जारी गर्दै ‘अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना गर्न असमर्थ छौँ’ भनिसके ।

संक्रमितको उपचारका लागि हारगुहार गर्दैछन्, आफन्त । रोइकराइ गर्दा पनि अक्सिजन पाएका छैनन् । अक्सिजन खोज्दाखोज्दै कतिले प्राण त्यागे, कतिले अझै प्राण त्याग्नेछन् । यतिबेला नेपालीहरु जीवनमरणको दोसाँधमा छन् । ‘फेसबुक’भरि श्रद्धाञ्जलिका फोटो र शब्दले भरिएका छन् ।

मानिसले कतै एकैछिन उभिएर सुस्ताउने ठाउँ पाएको छैनन् । संघीय राजधानीका सबै अस्पताल चर्हादा पनि संक्रमित राख्ने बेड पाइँदैन । संक्रिमितको लागि बेड पाउनु युद्ध जित्नु सरह भएको छ । बेड पाइहाले पनि उसले राम्रो उपचार पाउने सुनिश्चितता छैन । अक्सिजन सहितको उपचार पाउन त भाग्यमै लेखेको हुनुपर्छ !

राजधानीमै नागरिक सामान्य अक्सिजन नपाएर प्राण त्याग्दैछन् । संक्रमित र मृतकको संख्या दिनदिनै बढ्दैछ । तर, सरकार भने संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण काम गरिरहेको दाबी गर्दै छ । कोभिड–१९ ले भयवाह बनाउँछ भन्नेमा सरकार पहिले नै जानकार थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिनाअघि अर्थात्, बैशाख १५ गते नै जेठ १५ गतेपछि दैनिक १ लाख ९३ हजार व्यक्तिलाई कोरोना संक्रमण हुने १ सय ४९ जनाको मृत्यु हुने प्रक्षेपण गरिसकेको थियो ।

प्रस्तुत प्रक्षेपण सार्वजनिक गरेको दिन अर्थात् वैशाख १५ गते नेपालको अवस्था सामान्य थियो । त्यो दिनको तथ्याङ्कअनुसार १० जनाको मृत्यु र ४ हजार ८ सय ९७ जना संक्रमित थिए । बैशाख १५ गतेपछिको अवस्था हेर्दा सरकारी प्रक्षेपण उछिन्ने गरी संक्रमण र मृत्युदर बढेको पाइन्छ । १५ दिनपछि अर्थात बैशाख ३० गते २१४ जनाको मृत्यु भयो भने ८ हजार ९ सय ६० जना संक्रमित भए । यसको अर्थ, कोरोना महामारीले भयावह रुप लिइसकेको छ । र, यो अवस्थाबारे सरकार जानकार थियो ।

गत शुक्रबार शीतलनिवास र पशुपति आर्यघाटमा उस्तै लाइन देखियो । फरक यति मात्रै थियो– शितल निवासमा सबै मन्त्री पदमाथि उभिएका थिए, पशुपति आर्यघाटमा सबै शव चितामाथि सुतेका । यदि, शव पनि बोल्न सक्ने भए शितलनिवासको लाइनलाई भन्थ्यो होला, ‘त्यो पर्दैन ।’

विश्व स्वास्थ्य संगठनले पनि एकवर्ष अघि नै नेपाललाई ‘रेड जोन’मा राखेको थियो । अस्पतालको भौतिक संरचना र पूर्वाधार अनि जनशक्ति व्यवस्थापन गर्न हामीसँग मनग्गे समय थियो, तर यता सरकारको ध्यान गएन ।

सरकार स्वास्थ्य सामाग्री, खोपको कमिसन र सेटिङमै व्यस्त भयो । स्वास्थ्य उपकरण खरिदमा भएको करोडौं भ्रष्टाचारका घटना सार्वजनिक हुँदा पनि दोषीलाई कारवाही गर्न सकेन ।

पकेटकै व्यापारी परिचालित गर्नुपर्ने, कमिसन विना खरिद प्रकृया अगाडि नबढाउने तथा कमिसनमा मन्त्रीकै नाम जोडिएको यो पहिलो घटना भने होइन । जब देश संकटमा पर्छ तब यस्तै हुने गरेको छ ।

सरकारकै व्यवस्थापकीय कमजोरीले अहिले भयवाह भयो । हतियार बिना मैदानमा उत्रिएका सयौं स्वास्थ्यकर्मी संक्रमित भइसके । केहीले ज्यान गुमाए पनि । तर, जनताले जिताएर पठाएका जनप्रतिनिधि ‘सत्ताको खेल’मा व्यस्त रहे । सरकार र राजनीति दल सत्ता टिकाउन र सत्ता परिवर्तनकै खेलमा मस्त रहे ।

महामारी सुरु भएदेखि नै प्रधानमन्त्री खड्कप्रसाद शर्मा ओलीको प्रस्तुती गैरजिम्मेवार बन्यो । ‘बेसार पानी खाए कोरोना ठीक हुन्छ’ भन्दै अफवाह फैलाउने ओली नै हुन् । उनै ओली आज कोरोनाले भयावह रुप लिनुमा जनता दोषी भन्दैछन् ।

कोरोना महामारी सुरु हुँदा पनि ओली नै प्रधानमन्त्री थिए । विश्व कोरोना नियन्त्रणमा केन्द्रित हुँदा ओली भने नेकपा खारेजीको योजना रच्दै थिए । नेकपा खारेज पनि भयो । त्यसपछि पनि ओली कुर्सी जोगाउने खेलमै व्यस्त रहे । कोरोना माहामारीसँग कसरी जुध्ने भन्ने सोच्नसमेत भ्याएनन् ।

‘सत्ताकै खेल’मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयास गरे । नराम्रोसँग पराजित भए । तर पनि उनको सत्तामोह सकिएन । अन्ततः गत शुक्रबार उनी तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भए । तेस्रो पटक प्रधानमन्त्री बनेर पनि ओली जनताप्रति गम्भीर देखिएनन् । त्यसैले त देश र जनताका नाममा सपथ ग्रहणको प्रतिज्ञा ठाडौ ‘अस्वीकार’ गरिदिए !

गत शुक्रबार शीतल निवासमा सपथ लिँदै गर्दा पथ ग्रहणका लागि उपलब्ध गराइएको पत्रमा उल्लेख गरिएको ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु’ भन्ने वाक्यबाट ‘प्रतिज्ञा गर्छु’ शब्द उच्चारण ओलीले मान्दै मानेनन् । ओलीले उक्त शब्द उच्चारण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः उच्चारण गर्न आग्रह गरिन् । तर, ओलीले ‘त्यो पर्दैन’ भन्दै ठाडै अस्वीकार गरे । ओली यसरी शपथग्रहण गरिरहँदा देशभर २०३ जना कोरोना संक्रमितले प्राण त्याग, ८ हजार ५२० संक्रमित भए ।

गत शुक्रबार शीतलनिवास र पशुपति आर्यघाटमा उस्तै लाइन देखियो । फरक यति मात्रै थियो– शितल निवासमा सबै मन्त्री पदमाथि उभिएका थिए, पशुपति आर्यघाटमा सबै शव चितामाथि सुतेका । यदि, शव पनि बोल्न सक्ने भए शितलनिवासको लाइनलाई भन्थ्यो होला, ‘त्यो पर्दैन ।’

जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले अहिले बजेट, नीति तथा कार्यक्रम बनाउन अहोरात्र खट्नुपर्ने समय हो । महामारी नियन्त्रणका लागि पनि युद्धस्तरमा खट्नुपर्ने अवस्था छ । तर, सत्ता जोगाउन नसकेपछि यहीबेला प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका छन् । ओलीले सम्पूर्ण शक्ति सत्तामै लगाइरहेका छन् ।

त्यसो त प्रतिनिधिसभा विघटन गर्ने पुस पाँचको प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर भएपछि सरकार अल्पमतमा परेको थियो । त्यसपछि प्रधानमन्त्री ओली कुर्सी जाेगाउनकाे लागि संसदीय रणनीति र गणितीय जोड–घटाउमा व्यस्त भए । सत्ताको हारगुहारमा व्यस्त भए, प्रधानमन्त्री ओली । आफ्नो सरकार टिकाउन सम्पूर्ण शक्ति, समय र ऊर्जा खर्च गरिरहे  । अन्ततः केही सिप नचलेपछि ओलीले दोस्रो पटक प्र्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका छन् ।

नेपालका कुना कन्दरासम्म कोरोना संक्रमण पु¥याउन राजनीतक दलले नै भूमिका खेले । महामारील सिथिल हुन नपाउँदै मानवसागरसहित आयोजित राजनीतिक कार्यक्रमहरु यसका प्रमाण हुन् । आफ्नो गुट बढी शक्तिशाली छ भन्ने देखाउन सत्तारुढ दलकै दुई समूहले प्रतिस्पर्धात्मक जनप्रदर्शन गरे । यो नै सबैभन्दा ठूलो आत्मघाती गतिविधि थियो ।

स्वास्थ्य मन्त्रालयले तथ्यगत अध्ययनको आधारमा प्रक्षेपण गरेकै दिनबाट सत्ताको खेल छाडेर सरकार तयारीमा जुटेको भए सामान्य अक्सिजन नपाएकै कारण कसैले प्राण त्याग्नुपर्ने थिएन । उपचार नै नपाउने अवस्था आउने थिएन ।

सत्ताको खेल भोलि खेलेपनि हुन्छ । आजलाई अक्सिजनको व्यवस्था गरियोस् । संक्रमितलाई उपचार गर्ने प्रबन्ध मिलाइयोस् । संक्रमितलाई भर्ना गर्न एम्बुलेन्समा बोकेर अस्पताल चहार्दै हिड्नुपर्ने अवस्थाको अन्त्य होस् । संकटको बेला सरकार सारथी बनोस् ।

अहिलेको आवश्यकता नागरिकको सुरक्षा हो । नागरिकलाई जीवनरक्षा चाहिएको छ । त्यसैले सरकारको ध्यान जनताको जीवनरक्षामा केन्द्रित हुनुपर्छ । जनताको जीवनरक्षा नै पहिलो प्राथमिकतामा पर्नुपर्छ । जनता मारेर नेता बन्नुको अर्थ हुँदैन ।

यो अवस्थामा सत्ता मात्र होइन सबै राजनीतिक दल र नेता कार्यकर्ता, राज्य संयन्त्र र सर्वसाधारण सबैले आपसी मतमतान्तर त्यागेर भावनात्मक रूपमै एक भई कोरोनासँग लड्न जुट्नुपर्छ । आवश्यक पर्ने स्वास्थ्य सामग्री, औषधि व्यवस्था निरन्तर उपलब्ध गराउन राज्यको स्रोत साधनको उच्चतम प्रयोग गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्